वीरगञ्ज । पर्सामा चालु आर्थिक वर्षको ९ महिनामा रु ८६ करोड १० लाख ८१ हजार ९९८ लगानीमा ७३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन् ।
पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमामा १ हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ ।
चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् ६९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटामात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ ।
चालु आवमा दर्ता भएका उद्योगको चालु पूँजी भने रु ७१ करोड ७ लाख ८४ हजार ३१४ छ । कुल पूँजी रु एक अर्ब ५७ करोड १८ लाख ६६ हजार तीन सय १२ रहेको छ । चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु ३ अर्ब १ करोड ४५ लाख ८८ हजार ९३८ रहेको छ ।
उक्त कार्यालयले चालु आवको ९ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ५९ लाख ८२ हजार चार सय राजस्व सङ्कलन गरेको जनाएको छ । गत आवमा पर्सामा १ हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए । दर्तामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१ थियो । गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पूँजी रु १ अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२ थियो ।
त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पूँजी भने रु एक अर्ब २९ करोड ७१ लाख ८२ हजार ३७५ छ । गत आवमा दर्ता भएका उद्योगको कुल पूँजी रु दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार ४२७ छ । गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता रु ४ अर्ब ३४ करोड ९८ लाख ६१ हजार ३५५ छ ।
कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट रु १ करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन गरेको थियो । गत आवमा दर्ता भएका उद्योगले ५ हजार ४६० जनालाई रोजगारी दिने आकालन गरिएको थियो ।रासस