काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १५.०२ प्रतिशतले घटेकोे छ ।
चैत मसान्तसम्म बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १८ करोड ५२ लाख रुपैयाँ कम हो । गत वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै बैंकको खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.५७ प्रतिशत घटेर १ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा १४.९९ प्रतिशत घटेर १ अर्ब ४१ करोड रुपैयाँमा झरेको छ ।
हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब ३० करोड रुपैयाँ संचित छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ८८ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा बैंकको वितरण योग्य नाफा ९१ करोड ६१ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकले ९९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप २४.३७ प्रतिशतले बढेको छ भने कर्जा लगानी ७.२५ प्रतिशतले घटेको हो ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७.१७ रुपैयाँबाट घटेर ६.०९ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११०.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.४६ गुणा छ ।