काठमाडौं । वाणिज्य बैंकहरूको खुद नाफामा गिरावट आएको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा १३.४७ प्रतिशतले घटेको छ ।
चालु आवको चैत मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ३३ करोड रुपैयाँ कम हो । गत वर्ष चैतसम्म बैंकहरूले ४७ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका थिए ।
अर्थतन्त्रमा आएको मन्दीको असर बैंकहरूको नाफामा देखिएको हो । अर्थतन्त्र शिथिल हुँदा बैंकहरूले नयाँ व्यवसाय विस्तार गर्न नसक्दा र विगतमा गरिएको कर्जा असुली नहुँदा नाफाम ठूलो असर परेको हो ।
आर्थिक मन्दीका कारण उद्योग व्यवसाय चौपट हुँदा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । जसकारण बैंकहरूको कर्जा असुली हुन नसक्दा खराब कर्जा समेत बढेको छ । एकातिर कर्जाको माग नहुँदा नयाँ कर्जा विस्तार नहुनु र अर्कोतर्फ विगतमा लगानी गरिएको ऋण असुली नहुँदा खराब कर्जा बढी प्रोभिजनिङ बढ्दा बैंकहरूको नाफा घटेको हो ।
गत पुसको तुलनामा अधिकांश बैंकहरूको खराब कर्जा बढेको छ । जसकारण ठूलो रकम जोखिम व्यवस्थापनका लागि छुट्याउनु पर्दा नाफा घटेको हो ।
खुद नाफा घटेसँगै अधिकांश बैंकको वितरण योग्य नाफा ऋणातमक भएको छ । वित्तीय विवरण हेर्दा करिब आधा दर्जन बैंकले मात्रै आगामी वर्ष लाभांश दिन सक्ने देखिन्छ ।
१३ बैंकको नाफा घट्यो, ७ को बढ्यो
चैतसम्म २० वटा मध्ये १३ वटा बैंकको नाफा घटेको छ भने ७ वटाको मात्रै बढेको छ । समीक्षा अवधिमा सरकारी स्वामित्वको कृषि विकास बैंकको खुद नाफा झन्डै दोब्बरले बढेको छ । गत वर्षको चैतको तुलनामा कृषिको नाफा ९७.२२ प्रतिशतले बढेको छ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७.७० प्रतिशत, प्राइम कमर्शियलको १६.६६ प्रतिशत, सिद्धार्थको १३.०२ प्रतिशत, हिमालयनको १२.०४ प्रतिशत, इन्भेष्टमेन्ट मेगाको ७.५२ प्रतिशत र एभरेष्टको ५.७७ प्रतिशतले नाफा बढेको छ ।
समीक्षा अवधिमा सरकारी स्वामित्वकै नेपाल बैंकको खुद नाफा सर्वाधिक ९२.६८ प्रतिशतले घटेको छ । त्यसैगरी, एनआइसी एशिया, ५२.३१ प्रतिशत, माछापुच्छ्रे ३६.७३ प्रतिशत, नेपाल एसबीआइ ३५.४४ प्रतिशत, राष्ट्रिय वाणिज्य ३३.६० प्रतिशत, ग्लोबल आइएमई २४.१३ प्रतिशतले घटेको छ ।
नबिल बन्यो सर्वाधिक नाफा कमाउने
समीक्षा अवधिमा नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । चैतसम्म नबिलले ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ ।
यस्तो, ग्लोबल आइएमई ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाउँदै दोस्रो धेरै गर्ने बैंक बनेको छ । इन्भेष्टमेन्ट मेगाले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा ६ वटा बैंकले २ अर्ब रुपैयाँ माथि नाफा कमाएका छन् । जसमा प्राइम २ अर्ब ८७ करोड, एभरेष्ट २ अर्ब ६० करोड, स्ट्याण्डर्ड चार्टर्ड २ अर्ब ६१ करोड, राष्ट्रिय वाणिज्य २ अर्ब ३७ करोड, एनएमबी २ अर्ब २४ र कृषि विकासले २ अर्ब ५ करोड नाफा कमाएको छ ।
समीक्षा अवधिमा ९ बैंकले १ अर्बदेखि २ अर्बभन्दा कम नाफा कमाएका छन् भने २ बैंकले १ अर्बभन्दा कम नाफा कमाएका छन् । जसमा नेपाल बैंकले सबैभन्दा कम १३ करोड ५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।