लक्ष्मी सनराइज बैंकको खुद नाफा २७.७% बढ्यो, खराब कर्जा भने सीमा नाघ्यो

काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २७.७० प्रतिशतले बढेको हो ।

चालु आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ३५ करोड रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफामा सुधार आएको हो । समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी १०३.४९ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंककोे संचालन नाफा ११.७८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्ममा बैंकले ३ खर्ब ११ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा तेब्बरले बढेपछि बैंकले ४ अर्ब रुपैयाँ प्रोभिजन गरेको छ ।

हाल २३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंककोे जगेडा कोषमा १७ अर्ब ८४ करोड रुपैयाँ संचित छ भने रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंककोे वितरण योग्य मुनाफा १ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ ।

नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंककोे प्रतिसेयर आम्दानी १४.६१ रुपैयाँबाट घटेर ९.२९ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि पुगेको छ । गत वर्ष चैतसम्म १.८२ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवको सोही अवधिमा बढेर ५.४९ प्रतिशत पुगेको छ । खराब कर्जा ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गुर्नका साथै व्यवसाय विस्तारमा रोक लगाउन सक्छ ।

समीक्षा अवधिमा बैंककोे प्रतिसेयर नेटवर्थ १७१.५९ रुपैयाँ, बेसरेट ९.१२ प्रतिशत, मूल्य आम्दानी अनुपात १६.३८ गुणा, सीडी रेसियो ७९.४८ प्रतिशत, स्प्रेडदर ४.४१ प्रतिशत रहेको छ ।

नबिल बैंकले खुद नाफा ४.६६ अर्ब, लाभांश क्षमता कति ? Read Previous

नबिल बैंकले खुद नाफा ४.६६ अर्ब, लाभांश क्षमता कति ?

निफ्राको खुद नाफामा गिरावट, वितरणयोग्य नाफा झन्डै आधा घट्यो Read Next

निफ्राको खुद नाफामा गिरावट, वितरणयोग्य नाफा झन्डै आधा घट्यो