काठमाडौं । नबिल बैंकको खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८.७६ प्रतिशतले घटेको हो ।
चालु आवको चैत मसान्तसम्म बैंकले ४ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ४५ करोड रुपैयाँ कम हो । गत वर्ष चैतसम्म बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी र संचालन मुनाफा बढे पनि खर्च बढ्दा नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंककोे संचालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
हाल २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंककोे जगेडा कोषमा २७ अर्ब ७८ करोड र रिटेन्ड अर्निङमा १ अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंककोे वितरण योग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ छ । जसबाट ५.७१ प्रतिशत लाभांश दिन पुग्छ ।
नाफा घटेसँगै बैंककोे प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा बैंककोे प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँबाट घटेर २३.२४ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा घटेको छ । गत वर्ष चैतसम्म १.९८ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवको सोही अवधिमा घटेर १.२७ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा बैंककोे प्रतिसेयर नेटवर्थ २०८.३९ रुपैयाँ, बेसरेट ८.३६ प्रतिशत रहेको छ ।