काठमाडौं । एनआइसी एशिया बैंकको खुद नाफामा उच्च गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५२.३१ प्रतिशतले घटेको हो ।
चालु आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा २ अर्ब १० करोड रुपैयाँ कम हो । गत वर्ष चैतसम्म बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी घट्दा र खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा उच्च गिरावट आएको छ ।
समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी ९.९५ प्रतिशतले घटेर ८ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । यस्तै, बैंककोे संचालन नाफा ३७.३१ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंककोे खराब कर्जा असुली नहुँदा जोखिम व्यवस्थापनका लागि २ अर्ब १४ करोड रुपैयाँ प्रोभिजन गरेको छ । चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
हाल १४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंककोे जगेडा कोषमा १७ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंककोे वितरण योग्य मुनाफा १ अर्ब ७२ करोड ऋणात्मक छ ।
नाफासँगै बैंककोे प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा बैंककोे प्रतिसेयर आम्दानी ४६.२९ रुपैयाँबाट घटेर १७.१२ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा साढे ३ गुणाले बढेको छ । गत वर्ष चैतसम्म ०.८५ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवको सोही अवधिमा बढेर ३.०८ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा बैंककोे प्रतिसेयर नेटवर्थ २०५.४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.८५ गुणा, बेसरेट ८.८६ प्रतिशत, सीडी रेसियो ८५.८१ प्रतिशत र स्प्रेडदर ३.९९ प्रतिशत रहेको छ ।