काठमाडौं । अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग नबढे पनि व्यक्तिगत आवासीय र सेयर धितो कर्जाको भने माग बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको ८ महिना (साउन-फागुन)मा व्यक्तिगत घरकर्जा १०.४ प्रतिशत र सेयर धितो कर्जा १२.३ प्रतिशतले बढेको हो ।
विगतमा घरजग्गा र सेयर कर्जामा राष्ट्र बैंकले कडाइ गरेको थियो । तर, चालु आवमा राष्ट्र बैंकले एकपछि अर्को लचकता अपनाउँदा र ब्याजदर सस्तिँदै जाँदा यी क्षेत्रमा कर्जाको माग बढ्न थालेको हो ।
चालु आवको सुरूदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता छ । अहिले पनि बैंकहरूसँग ५ खर्ब रुपैयाँभन्दा धेरै लगानी योग्य रकम छ । तर, आर्थिक मन्दीका कारण उत्पादनमूलक, हायरपर्चेज, ओभर ड्राफ्ट लगायत कर्जाको माग बढ्न सकेको छैन ।
एकोहोरो निक्षेप थ्रुपिरहने तर कर्जा लगानी नहुने भएपछि बैंकहरू दबाबमा पर्न थालेका छन् । त्यसैले बैंकहरूले घरजग्गा र सेयर कर्जामा आकर्षक स्कीम ल्याउन थालेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ९ अर्ब ३९ करोड ९० लाख रुपैयाँ सेयर कर्जा दिएका छन् । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा चैत मसान्त आइपुग्दा बढेर ८५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो । यद्यपि, नेप्से परिसूचक भने बढ्न सकेको छैन ।
राष्ट्र बैंकले चालु आवदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकुश क्रमशः हटाउँदै लगेको छ । जसको प्रभाव बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाहमा देखिन थालेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको हाल बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ ।
त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।
त्यस्तै, बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट नै एकल अंकमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले १० प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ । अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ ।
आक्रमक बन्दै एनआइसी र नबिल
चालु आवमा वाणिज्य बैंकहरूले मात्रै ८ अर्ब ४४ करोड सेयर कर्जा लगानी गरेका छन् । जसमा एनआइसी एशिया र नबिल बैंकले मात्रै कुल कर्जा लगानीको ६५ प्रतिशत कर्जा लगानी गरेका छन् । चालु आवमा वाणिज्य बैंकहरूले कुल ८ अर्ब ४४ करोड सेयर कर्जा लगानी गर्दा एनआइसी र नबिलले मात्रै ५ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेका छन् ।यो चालु आवमा लगानी भएको कुल सेयर कर्जाको ६५ प्रतिशत हो ।
चालु आवमा एनआइसी एशिया बैंकले सबैभन्दा धेरै ३ अर्ब ३९ करोड सेयर कर्जा दिएको छ । गत असारको तुलनामा एनआइसीले सेयर कर्जा लगानी ३२९.८२ प्रतिशतले बढाएको छ । साउन यता एनआइसीले ३ अर्ब ३९ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेको छ ।
यस्तै, सेयर कर्जा विस्तारमा नबिल बैंक पनि आक्रमक बनेको छ । नबिलले चालु वर्षको ८ महिनामा २ अर्ब ४० करोड रुपैयाँले सेयर कर्जा दिएको छ । असारको तुलनामा नबिलले सेयर कर्जा लगानी २५.८९ प्रतिशतले बढाएको छ । फागुनसम्म नबलिले कुल ११ अर्ब ७१ करोड रुपैयाँ सेयर कर्जा दिएको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै हो ।
यसैगरी, चालु आवमा सिद्धार्थ बैंकले १ अर्ब ११ करोड, नेपालले ९९ करोड ६७ लाख, प्राइम कमर्शियलले ९२ करोड ८० लाख, एभरेष्टले ८७ करोड ७० लाख, सिटिजन्सले ८१ करोड १२ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।
यस्तै, ग्लोबल आइएमईले ४७ करोड ११ लाख, सानिमाले २८ करोड ७४ लाख, कुमारीले १७ करोड ५० लाख, कृषि विकास १० करोड ७९ लाख, नेपाल एसबीआई ९ करोड ७५ लाख र राष्ट्रिय वाणिज्य बैंकले ५६ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।
६ बैंकले भने घटाउँदै
चालु आवमा १३ वाणिज्य बैंकले सेयर कर्जा लगानी बढाउँदा ६ बैंकले भने उल्टो घटाएका छन् । माछापुच्छ्रे, एनएमबी, लक्ष्मी सनराइज, हिमालयन, प्रभु र इन्भेष्टमेन्ट मेगा बैंकले सेयर कर्जा लगानी घटाएका हुन् । यी बैंकहरू नयाँ सेयर कर्जा लगानीभन्दा असुलीमा केन्द्रित भएका छन् ।
यस अवधिमा इन्भेष्टमेन्ट मेगाले सबैभन्दा धेरै ९० करोड सेयर कर्जा असुली गरेको छ । यस्तै, प्रभुले ७० करोड, हिमालयनले ५९ करोड, लक्ष्मी सनराइजले ४९ करोड, माछापुच्छ्रेले साढे ७ करोड सेयर कर्जा असुली गरेका छन् ।
२० वाणिज्य बैंकमध्ये विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टले भने सेयर कर्जा नै दिएको छैन । यस बैंकले सेयर धितोमा १ रुपैयाँमा पनि ऋण दिएको छैन ।