काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । सोमबार १७ अंकले घटेको नेप्से आज १४ अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६७ करोडले घटेर २ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ ।
मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा आइपुगेको छ । यसदिन ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक १.३१ प्रतिशतले घटेको छ ।
आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड ५९ लाख रुपैयाँ बराबरको २ लाख १२ हजार ६२६ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिद्धार्थ बैंकको डिबेन्चर र गोर्खा फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज रुरु जलविद्युत्का सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।