काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले बढेर १ लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा यो अहिलेसम्मकै उच्च हो । यसअघि चैत ३० छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
गत चैत यता मात्रै सुनको मूल्य प्रतितोला झन्डै १५ हजार रुपैयाँले बढिसकेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ३८ हजार ५५० निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिएसँगै नेपाली बजारमा पनि सुनको भाउ अचाक्ली बढेको हो । मंगलबार विश्व बजारमा सुनको भाउ प्रतिऔंस २३८६.५३ डलरमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।