बैंकका संचालक र कर्मचारीको खातामा उच्च कारोबार, राष्ट्र बैंकले उठायो प्रश्न

काठमाडौं । वाणिज्य बैंकका सञ्चालक र वरिष्ठ कर्मचारीहरूको खातामा उच्च परिमाणमा नगद कारोबार हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘बैंकिङ सुपरीवेक्षण प्रतिवेदन २०२२-२३’ले यस्तो देखाएको हो ।

यस्तै, बैंक ग्राहकहरूले पनि आफ्नो पृष्ठभूमिभन्दा धेरै कारोबार गर्ने गरेको पाइएको छ । यसले सम्पत्ती शुद्धीकरण निवारणमा समस्या हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बैंकहरूले ग्राहक पहिचान विवरण संकलन समेत प्रशिक्षार्थी कर्मचारीहरूबाट गराउने गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, बैंकका सञ्चालकहरूले कानुन अनुसार काम कारबाही र निर्देशनको पालना नगरेको पाइएको छ । बैंकका सञ्चालक समितिहरूमा लगिने एजेन्डाहरूमा कर्जाको मूल्यांकन, स्वीकृति, खराब कर्जा उठाउने योजना र सार्वजनिक खरीदारीमा प्रस्तावहरू मात्रै लैजाने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

बैंकका संचालक समिति बैठकमा आफ्ना नीति, अनुपालना, लेखा परीक्षण, जोखिम व्यवस्थापन लगायत विषयका बारेमा कमै मात्रमा छलफल भएको पाइएको राष्ट्र बैंकले औँल्याएको छ ।

यसैगरी, केही बैंकहरूले सीईओको कार्यसम्पादनको मूल्यांकन नगरेको, जोखिम व्यवस्थापन समितिले दिएको सुझाव वेवास्ता गर्ने गरेको, कतिपय बैंकमा आन्तरिक लेखापरीक्षक प्रमुखको मूल्यांकन समेत नियम विपरीत सीईओ वा डेपुटी सीईओबाट हुने गरेको भेटिएको प्रतिवेदनले उल्लेख गरेको छ ।

यस्तै, केही बैंकहरूले राष्ट्र बैंकले जारी गरेको निर्देशन, सर्कुलर, नियमको पालना नगरिएको भेटिएको छ । केही बैंकले कर्जा लगानी गर्दा नियम अनुसार जोखिम भार नराखेको, धितोको स्थलगत मूल्यांकनको नभएको, कर्जा लगानीको आन्तरिक नियमन नगरेको, चालु पूँजी कर्जा सम्बन्धी मापदण्ड अनुसार चालु खाता र कर्जा खाता नछुट्याएको, आवश्यक कागजात बिनै कर्जा नवीकरण गर्दिने गरिएको भेटिएको छ ।

 

अर्घाखाँची सिमेन्टले अघि बढायो आइपीओ निष्काशन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त Read Previous

अर्घाखाँची सिमेन्टले अघि बढायो आइपीओ निष्काशन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

नागढुंगा-नौबिसे सुरुङमार्गको 'ब्रेक थ्रु', अब कहिलेदेखि गुड्छन् गाडी ? Read Next

नागढुंगा-नौबिसे सुरुङमार्गको 'ब्रेक थ्रु', अब कहिलेदेखि गुड्छन् गाडी ?