काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग वारपार छिचोलिएको (ब्रेक थ्रु) छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङमार्गको २६८८ मिटर लामो मुख्य सुरुङको ब्रेक थ्रु गरिएको हो ।
४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको आयोजनाको ५३ महिनापछि ब्रेक थ्रु भएको हो । आयोजनाको २५५७ मिटर लामो आपतकाली सुरुङ भने गत साउन २२ गते नै ब्रेक थ्रु गरिएको थियो ।
सवारीसाधन गुड्ने यो नेपालकै पहिलो सुरुङमार्ग हो । यस आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए ।
सुरुङ सञ्चालनमा आएपछि काठमाडौंको थानकोटबाट ३ मिनेटमै धादिङको सिस्नेखोला पुगिने छ । हाल सडकमार्ग हुँदै जाँदा थानकोटबाट सिस्नेखोला पुग्न साढे ८ किलोमिटर दूरी पार गर्नुपर्छ भने सुरुङमार्गबाट जाँदा अब झन्डै ६ किमी दूरी छोटिने छ ।
आयोजना अन्तर्गत एउटा मुख्य र अर्को आपतकालीन सुरुङ रहेका छन् । मुख्य सुरुङमा केही भवितव्य परिहालेमा आपतकालीन सुरुङबाट उद्धार गर्न सकिन्छ । आपतकालीन र मुख्य सुरुङ जोड्न ७ वटा क्रस प्यासेज निर्माण गरिएको छ ।
संचालनमा आउन भने अझै १ वर्ष लाग्ने
सुरुङमार्गको ब्रेक थ्रु भए पनि पूर्ण रुपमा संचालनमा आउन भने करिब १ वर्ष लाग्ने भएको छ । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार पिनसिङ, लाइटिङ, अक्सिजन जडान, सडक ढलान लगायतको काम बाँकी छ । उक्त काम सम्पन्न गर्न झन्डै १ वर्ष लाग्ने आयोजनाका निर्देशक गोविन्द दुमरुले जानकारी दिए ।
सुरुङमार्ग संचालनको मोडालिटी टुंगो लाग्न पनि बाँकी रहेको उनले बताए । उनका अनुसार अब फ्लाइओभर मात्रै निर्माण गर्न बाँकी छ ।हालसम्म फ्लाइओभरको ५ वटा फाउन्डेसन र सबस्ट्रक्चर निर्माण गर्नुपर्नेमा हालसम्म ३ वटा सम्पन्न भइसकेको छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ ।
आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमी दुई लेन सडक कालोपत्र हुँदै छ ।
यो सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा साढे १६ अर्ब रुपैयाँ जापान सरकारले ऋण सहयोग गरेको छ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ ।
फेरि म्याद थप्न प्रस्ताव
४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । सम्झौता अनुसार सुरुङमार्गको काम २०८० वैशाखामा सम्पन्न हुनुपथ्र्यो । सो समयमा नसकिएपछि कोभिडको कारण ढिलाइ भएकोभन्दै ३ महिना (२०८० साउन ४ गतेसम्म) म्याद थप गरिएको थियो ।
सो अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक २०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । दोस्रो पटक म्याद थपिएको समयमा पनि काम पूरा नभएपछि फेरि १ वर्ष म्याद थप्न प्रस्ताव गरिएको छ ।