काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नयाँ वर्ष २०८१ सालको पहिलोदिन आइतबार २ अंकले घटेको नेप्से आज दोस्रो दिन झन्डै १७ अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोडले घटेर २ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ ।
सोमबार नेप्से परिसूचक १६.८७ अंकले घटेर २००६.५२ बिन्दुमा आइपुगेको छ । यसदिन ३१४ कम्पनीको ७२ लाख २३ हजार ७३३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सर्वाधिक १.६४ प्रतिशतले घटेको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड ७७ लाख रुपैयाँ बराबरको ५ लाख २७ हजार ९२६ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा आज मेन्छियाम हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ७.०५ प्रतिशत कमाएक छन् भने गुराँस लघुवित्त र दोल्ती पावरका सेयरधनीले समान १० प्रतिशत गुमाएका छन् ।