बजारमा माग बढाउन सरकारको सहयोग आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजारमा माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताए । उनले बजारको माग बढाउन सरकारले सहयोग गर्नु पर्ने बताए ।

बिहीबार मोरङ उद्योग व्यापार संघको ६७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

सरकारले लगानी सम्मेलनअघि संशोधन गर्ने भनेको कानुनलाई पनि संशोधन गर्नुपर्ने उनले औंल्याए । उनले समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश जाने बताए ।

ढकालले महासंघको सुझावमा १२ वटा ऐन नियम संशोधनको प्रस्ताव गरिएको जानकारी दिए । संशोधनपछि केही जटिल विषय सम्बोधन हुने उनले बताए ।

ढकालले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण सुविधा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरे । सुविधा ठप्प हुँदा उद्यमशीलतामा असर परेको उनले बताए ।

उनले आन्तरिक माग कम हुँदा निर्यात गरेर र बढी पर्यटक भित्र्याएर माग बढाउनुपर्ने तर निकासीमा दिइने अनुदान रोकिएको बताए । यस हिसाबले अहिले निर्यातमा प्रोत्साहन नहुने उनले बताए । उनले पूँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता पनि तिर्न सरकारलाई आग्रह गरे । सरकारले व्यवसायीहरूको मनोबल बढाउनु पर्ने मा अध्यक्ष ढकालले जोड दिए ।

यसैबीच अध्यक्ष ढकालले मोरङ उद्योग व्यापार संघले चेम्बर आन्दोलन र देशको आर्थिक विकासमा पुर्याएको योगदानका लागि बधाई दिए । उनले मोरङ उद्योग व्यापार संघले यस क्षेत्रमा उद्यमशीलता प्रवद्र्धन, साना तथा मझौला उद्योगलाई टेवा पुर्याउन र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे ।

सो अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष नवीन रिजालले कर्जाको ब्याजदर घटाउन सहयोग पुर्याएकोमा ढकाल र महासंघलाई धन्यवाद दिए । तर, बजारको माग कम भएकाले व्यवसायीले केही समस्या भोग्नु परेको जानकारी गराए । बजारमा छिट्टै सुधार आउने र अर्थतन्त्रले गति लिने उनको भनाइ थियो ।

मोरङ उद्योग व्यापार संघलाई पहिले मोरङ व्यपार संघ भनिन्थ्यो । संस्थाको नाममा यो परिवर्तन बिहीबार गरिएको हो ।

प्रभु बैंक र  गण्डकी ट्याक्सी व्यवसायी बीच सम्झौता Read Previous

प्रभु बैंक र  गण्डकी ट्याक्सी व्यवसायी बीच सम्झौता

ठमेलमा अब प्रतिघण्टा २० किमीभन्दा बढीको स्पीडमा सवारी हाँक्न नपाइने, १२० सीसी क्यामेरा जडान Read Next

ठमेलमा अब प्रतिघण्टा २० किमीभन्दा बढीको स्पीडमा सवारी हाँक्न नपाइने, १२० सीसी क्यामेरा जडान