ठमेलमा अब प्रतिघण्टा २० किमीभन्दा बढीको स्पीडमा सवारी हाँक्न नपाइने, १२० सीसी क्यामेरा जडान

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ ।

ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो ।

ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिए । ‘ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ,’ उनले भने।

ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उनले जानकारी दिए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिसकेको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताए। ‘ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ,’ उनले भने । अध्यक्ष शर्माले ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाई समेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको बताए ।

ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा १२० थान सिसी क्यामरा जडान गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयसमेत हालै गरेको थियो ।

बजारमा माग बढाउन सरकारको सहयोग आवश्यक छ : अध्यक्ष ढकाल Read Previous

बजारमा माग बढाउन सरकारको सहयोग आवश्यक छ : अध्यक्ष ढकाल

सेयर किन्न ८ महिनामै लिए साढे ९ अर्ब ऋण Read Next

सेयर किन्न ८ महिनामै लिए साढे ९ अर्ब ऋण