७० अर्बको आइटी उद्योग धरासायी हुने चिन्ता, संसदमा उठ्यो आवाज

काठमाडौं । नेपालमा संचालित मध्ये एक ठूलो सूचना प्रविधि (आइटी) कम्पनी माथि राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेपछि सरोकारवाला चिन्तित हुन थालेका छन् ।

विभागले कानुन नै नबुझी अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी विरुद्ध मुद्दा हालेको भन्दै सार्वजनिक रुपमा चिन्ता व्यक्त हुन थालेको हो ।

विभागले आइतबार कोटिभिटीले आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर नतिरी कुल ५ अर्ब १८ करोड २२ लाख रुपैयाँ बिगो बराबरको राजस्व (भ्याट) छली गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

विभागले कोटिभिटीसँग १० अर्ब ३६ करोड रुपैयाँ बिगो समेत दाबी गरेको छ । स्वामित्व परिवर्तन गर्दा कानुनअनुसार कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागको दाबी छ ।

कोटिभिटी नेपालबाट सफ्टवेयर निर्यात गर्ने कम्पनी हो । विभागले कोटिभिटीले निर्यात गरेको सेवामा कानुन विपरीत भ्याट लाग्ने व्याख्यासहित मुद्दा दायर गरेपछि अहिले यो क्षेत्रका व्यवसायी आतंकित बनेका छन् ।

विश्वव्यापी रुपमा भ्याट अन्तिम उपभोगमा लाग्ने भएकाले निकासीमा लगाउनु अन्याय हुने कानुनका जानकारहरू बताउँछन् । कोटिभिटीले सफ्टवेयर निर्यात गर्ने भएकाले भ्याट लगाउन नहुने उनीहरूको तर्क छ ।

वार्षिंक खर्बौं व्यापार घाटा व्यहोर्दै आएको नेपाललाई घाटा न्यूनीकरण गर्ने प्रमुख सम्भावित वस्तु आइटी सेवा हुने जानकारहरू बताउँछन् । सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको एक अध्ययनले नेपालबाट सन् २०२२ मा करिब ६८ अर्ब रुपैयाँको आइटी सेवा निर्यात भएको थियो । एकीन तथ्यांक नभए पनि अहिले वार्षिक झन्डै ८० अर्ब हाराहारीको आइटी सेवा निर्यात भइरहेको बताइन्छ ।

तर, विभागले कानुको अपब्याख्या गर्दै मुद्दा हालेपछि यस क्षेत्रका व्यवसायी आतंकित बन्न थालेका छन् । आइटी क्षेत्र धरायसी हुँदा राज्यलाई प्राप्त हुने राजस्वसँगै हजारौं रोजगारी गुम्ने खतरा देखिन्छ । एकीन तथ्यांक नभए पनि नेपालमा सयौं कम्पनीमा ८० हजार बढी फ्रिल्यान्सरले आइटी सेवा निर्यात गरिरहेको अनुमान छ ।

संसदमा उठ्यो आवज

कोटिभिटी विरुद्ध मुद्दा दायर भएपछि सार्वजनिक क्षेत्रसँगै संसदमा समेत आवज उठेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले राजस्व अनुसन्धान विभागका कर्मचारीले कानुन नबुझ्दा ७० अर्बको आइटी उद्योग धरासायी हुने अवस्थामा पुगेको बताए ।

उनले राजस्व अनुसन्धान विभागका कर्मचारीमा क्षमता नहुँदा कोटिभिटी विरुद्ध मुद्दा दायर भएको उनले बताए । ‘सूचना प्रविधि कम्पनी कोटिभिटी माथि राजस्व अनुसन्धान विभागले एउटा मुद्दा दायर गरेको छ । कर्मचारी क्षमतावान नहुँदा नेपालको ७० अर्ब बढीको आइटी उद्योग धरासयी हुने देखिएको छ । यसले कर्मचारीको क्षमता नहुँदा नराम्रो प्रभाव पार्छ भन्ने उदाहरण त्यो मुद्दा हो,’ उनले भने ।

उनले कर्मचारी प्रशासन भित्र मेरिटोक्रेसी प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । ‘त्यही भएर कर्मचारी प्रशासनभित्र मेरिटोक्रेसी प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने ।

अब साझाको पेट्रोल पम्प पनि २४सै घण्टा खुल्ने Read Previous

अब साझाको पेट्रोल पम्प पनि २४सै घण्टा खुल्ने

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन Read Next

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन