काठमाडौं । अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण-३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।
लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार मङ्गलबार बसेको अनुगमन तथा सहजीकरण समितिको ११औँ बैठकपछि अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् ।
अरुण तेस्रो जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभिएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडबाट माग भएको मूल्य समायोजनअनुसारको रकम सटही एवं स्थानान्तरण, परियोजनाको ड्याम साइट पहुँचमार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी-दोभान सडकखण्ड स्तरोन्नतिसम्बन्धी विषय र छ्याङ्कुटीदेखि दिदिङसम्मको परियोजनाको पावर हाउस प्रवेशमार्गको मुआब्जाको समस्या समाधानका लागि पहल थाल्न अर्थमन्त्री पुनले निर्देशन दिए ।
साथै होङ्सी शिवम् सिमेन्टको पहुँच सडक स्तरोन्नतिसम्बन्धमा आवश्यक प्रक्रिया थाल्न तथा सम्बन्धित निकायबाट बजेट प्रस्ताव गरी व्यवस्थापन गर्न अर्थमन्त्री पुनले निर्देशन दिएका छन् ।
अनुगमन तथा सहजीकरण समितिको बैठकले मूल्य समायोजनको विषयमा अध्ययन गर्न अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको पनि प्रवक्ता उपाध्यायले जानकारी दिए ।
साथै अरुण-३ आयोजनाको खाँदबारी दोभान सडकखण्डको स्तरोन्नति द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।