
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको ६ महिना यताकै महँगो भएको छ । सन् २०२४ को सुरूआतदेखि नै बढ्न थालेको कच्चा तेलको मूल्य आज ६ महिना यताकै उच्च भएको हो ।
पछिल्लो समय सन् २०२३ को सेप्टेम्बरबाट ओरालो लागेको कच्चा तेलको मूल्य डिसेम्बरसम्म झन्डै २० प्रतिशतले घटेको थियो । २०२४ को जनवरीदेखि बढ्न थालेको तेलको मूल्य अहिले ६ महिना यताकै महँगो भएको हो ।
आयल प्राइस डटकमका अनुसार मंगलबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ प्रतिब्यारेल ८८.९६ डलरमा कारोबार भइरहेको छ । यो गत अक्टोबर यताकै उच्च हो । गत डिसेम्बरमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७२ डलरसम्म झरेको थियो ।
त्यस्तै, आज ओपेक तथा अमेरिकी बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ प्रतिब्यारेल ८५.३९ डलरमा करोबार भइरहेको छ । ३ महिना अघि यसको भाउ प्रतिब्यारेल ६७ डलरसम्म झरेको थियो ।त्यस्तै, आज मुर्बान क्रुड आयलको प्रतिब्यारेल ८९.५३ डलरमा कारोबार भइरहेको छ ।
विश्व बजारमा कच्चा तेलको माग बढेसँगै मूल्य आकाशिन थालेको हो । मुख्य गरी विश्वका दुई ठूला अमेरिका र चीनको अर्थतन्त्रमा सुधार देखिन थालेसँगै कच्चा तेलको माग बढ्न थालेको हो ।
अमेरिकामा मुद्रास्फीति दर घटेको छ भने चीनमा औद्योगिक उत्पादनका गतिविधिहरु ६ महिनामा पहिलो पटक बढेको छ । उत्पादन गतिविधिको वृद्धि हुँदा तेलको माग बढ्ने अनुमान भएपछि भाउ पनि बढेको हो ।
साथै, तेल उत्पादक देशहरुको समूह ओपेक प्लसले उत्पादनमा गरेको कटौतीका कारण पनि विश्व बजारमा तेलको आपूर्ति घटेको हो । आपूर्ति घटेसँगै मूल्य बढ्न थालेको हो ।
विश्व बजारमा तेलको भाउ बढेसँगै नेपालमा त्यसको प्रत्यक्ष असर पर्दछ । नेपाल इन्धनमा पूर्ण परनिर्भर रहेकाले विश्व बजारमा भाउ बढ्ने बित्तिकै नेपालमा पनि बढ्ने गर्छ ।