पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु १ अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रु १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा रु १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।

पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०/८१ को आठ महिनामा रु चार अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ । आव २०७९/८० को सोही अवधिमा रु पाँच अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो ।

गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजेलको आयात घटेको छ ।पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।

समता घरेलु लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

समता घरेलु लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

स्ट्याण्डर्ड चार्टर्डले लगातार पाँचौंपटक पायो 'त्रिपल ए' रेटिङ Read Next

स्ट्याण्डर्ड चार्टर्डले लगातार पाँचौंपटक पायो 'त्रिपल ए' रेटिङ