कच्चा पदार्थको अभावमा कैलालीका १३७ उद्योग बन्द

कैलाली । कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित १३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ ।

कैलालीमा हालसम्म १५ हजार ४३४ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका उद्योगमध्ये १३७ उद्योगको दर्ता खारेज भएको छ । हालसम्म उत्पादनमूलक ३ हजार १९४, कृषि ६ हजार ४८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक ५ हजार ६७३ गरी १५ हजार ४३४ उद्योग दर्ता भएका छन् ।

साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार ४३४ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले रु १ करोड ५० लाख विनियोजन गरेको छ ।

कार्यालयका अनुसार दर्ता भएका उद्योगमा नौ हजार एक सय २० महिला र ६९ हजार १११ पुरुषले रोजगारी प्रस्ताव गरिएको जनाइएको छ । यसैगरी गत आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले रु ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । चालु आव २०८०/८१ को फागुनसम्म रु १ करोड ५ लाख राजस्व सङ्कलन भएको छ । रासस

यी ७ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ? Read Previous

यी ७ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन