काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।
लाभांश घोषणा गरेकामध्ये पनि धेरै जसो कम्पनीले साधरणसभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरिसकेका छन् । नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार सूचीकृत डेढ सय बढी कम्पनीले पुस मसान्त भित्रै सभा सम्पन्न गरेका थिए । बाँकी कम्पनीले पनि अहिले धमाधम साधरण सभा गरिरहेका छन् ।
तर, ७ कम्पनीले भने अझै साधरण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् । तसर्थ ती कम्पनीको सेयर किन्दा अझै लाभांश पाइन्छ ।
लाभांश घोषणा गरेर पनि हालसम्म प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, सूर्यादय वोमी लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन र समता घरेलु लघुवित्तको बुकक्लोज भएको छैन ।
गत वर्षको नाफाबाट प्रभु इन्स्योरेन्सले ५ प्रतिशत (४.७५% सेयर र ०.२५% नगद), सगरमाथाले ५ प्रतितश नगद, सन नेपालले २५.०५ प्रतिशत (२३.८% सेयर र १.२५% नगद) र डिप्रोक्स लघुवित्तले १०.५३ प्रतिशत (१०% बोनस सेयर र ०.५३% नगद) लाभांश घोषणा गरेका छन् ।
त्यसैगरी, सूर्योदय वोमी लघुवित्तले १४.०७७ प्रतिशत बोनस सेयर, साल्ट ट्रेडिङले १५.७९ प्रतिशत (१५% बोनस सेयर र ०.७८% नगद) र समता घरेलुले ५.७० प्रतिशत (५.४२% बोनस सेयर र ०.२८% नगद) लाभांश प्रस्ताव गरेका छन् ।
यीमध्ये समता घरेलु, साल्ट ट्रेडिङ, डिप्रोक्स र सगरमाथाले साधारण सभा डाकेका छन् भने सन नेपाल, प्रभु र सूर्योदयले अझै साधरण सभाको मिति तोकेका छैनन् । तसर्थ, अझै यी ७ कम्पनीको सेयर किन्दा प्रस्तावित लाभांश पाइन्छ ।