काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
साधरण सभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले भोलि (चैत ९ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार दुवै कम्पनीको आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने छन् ।
ग्रीन डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ३.८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले चैत २७ गते १० औं तथा ११ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
त्यसैगरी, साल्ट ट्रेडिङले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले चैत २३ गते ५७ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
दुवै कम्पनीको साधरण सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीले पाउने छन् ।