काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएको ऋण समयमै भुक्तानी नगर्नेलाई काराबाही गर्ने चेतावनी दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले सोमबार एक सूचना जारी गर्दै सहकारी संस्थाहरूबाट लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न सबैमा आग्रह गरेको हो ।
पछिल्लो समय सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको विभागले जनाएको छ । भ्रमको पछि लागि समयमै ऋण नतिर्ने सदस्यलाई कानुनी कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।
ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्था सृजना भएको महानगरले बताएकाे छ । त्यसैले जुन सम्झौता र सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम रकम फिर्ता गर्न महानगरले आग्रह समेत गरेको छ ।
समयमै सहकारीको ऋण नतिर्ने सदस्यको ऋण असुलीका लागि कानुनी प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ ।
