नेपालीले अब भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं । अब नेपाली नागरिकले भारतमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था मिलाएको हो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकका खातावालले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन् । अब नेपाली भारतमा रहँदा क्यूआर मार्फत मर्चेन्ट भुक्तानी गर्न सक्नेछन् ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीबीच क्रसबोर्डर डिजिटल पेमेन्टका लागि समझदारी भएको थियो । सोही अनुसार गत भदौमा नेपालको फोनपे पेमेन्ट सर्भिस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाको सहायक कम्पनी ‘एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड बीच सम्झौता भएसँगै क्रसबोर्डर डिजिटल भुक्तानी सेवा सुरु भएको थियो ।

भारतीय नागरिकले नेपालमा गत फागुन १६ गतेदेखि क्यूआरमार्फत भुक्तानी गर्न थालेका थिए । नेपालमा कार्यरत भारतीयले नेपाली वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको खाता मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा प्रतिदिन १५ हजार भारु र प्रतिमहिना १ लाख भारु सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

भारतबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रयोजनका लागि राष्ट्र बैंक र रिजर्भ बैंकले व्यवस्था गरेको ‘इन्डो–नेपाल रेमिट्यानस फ्यासिलिटी स्कीम’को अतिरिक्त नेपालीले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको खातामा आबद्ध विद्यूतीय बैंकिङ (ई–बैंकिङ, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम भित्र्याउन सक्नेछन् ।

सरकार र लघुवित्त पीडित बीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता Read Previous

सरकार र लघुवित्त पीडित बीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

निगमले घटायो डिजेल र पेट्रोलको मूल्य Read Next

निगमले घटायो डिजेल र पेट्रोलको मूल्य