विदेशी मुद्रा संचिति हालसम्मकै धेरै, १ वर्ष बढीको आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा संचिति इतिहासमै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना (माघसम्म)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

गत असारको तुलनामा असोजमा विदेशी मुद्रा संचिति १९.९ प्रतिशतले बढेको हो । असार मसान्त्सम्म कुल विदेशी मुद्रा संचिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ र बैंक तथा वित्तय संस्थासँग २ खर्ब २१ अर्ब २ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यस्तै, अमेरिकी डलर संचिति हालसम्मकै धेरै भएको छ । माघसम्म राष्ट्रिय ढुकुटीमा १३ अर्ब ८९ करोड अमेरिकी डलर संचित छ । यो राष्ट्रिय ढुकुटीमा यति धेरै डलर जम्मा भएको इतिहासमै पहिलो पटक हो ।

यसअघि गत महिना १३ अर्ब ६९ करोड डलर संचिति करोड थियो । गत असारको तुलनामा चालु वर्षमा डलर संचिति १८.६ प्रतिशतले बढेको हो ।

रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचिति लगातार बढेको हो । २०७९ असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट २० करोड डलर थपिएको ।

डलर संचिति बढेको यो लगातार सोह्रौं महिना हो । राष्ट्रिय ढुकुटीमा चालु आवको साउनमा १२ करोड, भदौमा १६ करोड, असोज ३७, कात्तिकमा ४२ करोड, मंसिरमा ५५ करोड र पुसमा ३९ करोड डलर थपिएको छ ।

त्यस्तै, गत वर्षको असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड र असारमा ४३ करोड डलर थपिएको थियो ।

सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, २०७९ पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।

 

अर्थतन्त्रको बाह्य क्षेत्र 'निकै' बलियो, आन्तरिक पनि क्रमशः सुधार, यस्ता छन् मुख्य १० सूचक Read Previous

अर्थतन्त्रको बाह्य क्षेत्र 'निकै' बलियो, आन्तरिक पनि क्रमशः सुधार, यस्ता छन् मुख्य १० सूचक

नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत Read Next

नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत