काठमाडौं । अर्थतन्त्रको बाह्य सूचक निकै मजबुत अवस्थामा पुगेका छन् । आन्तरिक अर्थतन्त्रमा शिथिलता कायमै रहे पनि बाह्य क्षेत्र भने विगत डेढ वर्ष यताकै बलियो अवस्थामा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना (माघसम्म)को अध्ययन प्रतिवेदनले यस्तो बाह्य क्षेत्र निकै मजबुत अवस्थामा रहेको देखाएको हो ।
राष्ट्र बैंकका अनुसार अर्थतन्त्रका मुख्य सूचकहरू विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचक डेढ वर्ष यताकै मजबुत अवस्थामा पुगेका छन् ।
विगत १ वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भइरहँदा पनि आन्तरिक भने झन्झन् शिथिल हुँदै गएको थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधार आइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
चालु वर्षको पहिलो त्रैमासदेखि आन्तरिक सूचकहरूमा पनि केही सुधारको संकेत देखाएको छ । मूल्यवृद्धि लामो सयमपछि नियन्त्रणमा आएको छ । यस्तै, सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा लगानी, पूँजीगत खर्च लगायतमा सुधार आएको देखिएको छ ।
यद्यपि, सरकारको आम्दानी र खर्च बीचको खाडल ठूलो रहेको छ । आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन । दैनिक खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था छ ।
पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकार र नेपाल राष्ट्र बैंकले निकै मेहनत गरिरहेका छन् । सरकारले घरजग्गा सहित अन्य क्षत्रका नीतिगत लचकता अपनाइ रहेको छ । त्यस्तै, राष्ट्र बैंकले बैंकदर, नीतिगत दर घटाउँदा ब्याजदर घटाउने नीति लिँदै घरजग्गा, सेयर, हायरपर्चेज लगायत कर्जा लगानी खुकुलो बनाउँदै लगेको छ ।
अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेको र पछिल्लो समय गरिएका नीतिगत लचकताले आगामी महिनाहरू अझै सुधार देखिँदै जाने राष्ट्र बैंकले जनाएको छ ।
यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू
१. विदेशी मुद्रा संचितिको रेकर्ड : विदेशी मुद्रा संचितिले महिनैपिच्छे रेकर्ड बनाउँदै गएको छ । बढ्दो रेमिट्यान्स, बढ्दो पर्यटक आवगमन र घट्दो आयातका कारण विदेशी मुद्रा संचितिले इतिहासकै धेरैको रेकर्ड बनाएको छ ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, अमेरिकी डलर संचिति पनि इतिहासकै धेरै भएको छ । माघ मसान्तसम्म राष्ट्रिय ढुकुटीमा १३ अर्ब ८९ करोड डलर संचिति छ ।
२. वर्षदिनको आयात धान्न सक्ने अवस्था : डेढ वर्ष अघि विदेशी मुद्रा संचिति घट्दै जाँदा मुलु श्रीलंका जस्तै हुन्छ भन्ने आतंक समेत फैलिएको थियो । सो बेला वैदेशिक मुद्राले ६ महिनाको मात्रै आयत धान्ने अवस्था थियो । तर, अहिले विदेशी मुद्रा संचिति पर्याप्त भएको छ । माघसम्म राष्ट्रिय ढुकुटीमा १ वर्ष बढीको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति भएको छ । जुन पछिल्लो ३ वर्ष यताकै बलियो अवस्था हो ।
आव २०८०/८१ को ७ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।
३. महिनैपिच्छे खर्ब बढी रेमिट्यान्स भित्रिँदै : चालु वर्षमा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार औसतमा मासिक १ खर्ब रेमिट्यान्स भित्रिँदै आएको छ । माघ मसान्तसम्म विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएर ८ खर्ब ३९ अर्ब करोड पुगेको छ । यो कुनै पनि आवको ७ महिनामा भिएको हालसम्मकै धेरै रेमिट्यान्स हो ।
४. चालु खाता र शोधनान्तर स्थिति बचतमा : यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति पनि निकै बलियो अवस्थामा पुगेको छ । माघसम्म शोधान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब रुपैयाँ बचतमा थियो ।
५. व्यापार घाटामा सुधार : चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको माघको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा १.८ प्रतिशतले घटेर ८ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई रु. ८ खर्ब ९७ अर्ब ९४ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ७.१ प्रतिशतले कमी आई रु. ८६ अर्ब ८३ करोड कायम भएको छ ।
६. सरकारको खातामा २ खर्ब नगद मौज्दात : चालु आवको माघ मसान्तमा सरकारका खातामा २ खर्ब रुपैयाँ बढी नगद मौज्दात रहेको छ । यस अवधिमा सरकारका विभिन्न खातामा रु २१५ अर्ब २६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु६५ अर्ब ३६ करोड रुपैयाँ मात्र थियो।
७. बढ्यो निक्षेप संकलन र कर्जा लगानी : समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि सुधार आएको छ । यस अवधिमा निक्षेप संकलन ७ प्रतिशत अर्थात् ३ खर्ब ९७ अर्ब २० करोड रुपैयाँले बढेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाह हुने कर्जा लगानी पनि ४.१ प्रतिशतले बढेको छ । चालु वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९९ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि, अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ४८ अर्ब मात्रै कर्जा लगानी भएको थियो ।
८. सस्तिँदै ब्याजदर : चालु वर्षमा बैंकको ब्याजदर सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७९ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेकोमा २०८० माघमा ३.३४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू बीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा २०८० माघमा ३.०४ प्रतिशत रहेको छ ।
त्यस्तै, माघमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.०६ प्रतिशत, विकास बैंकहरूको ११.१३ प्रतिशत र वित्त कम्पनीहरूको १२.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.७२ प्रतिशत रहेको थियो।
२०८० माघमा वाणिज्य बैंकह?को निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकह?को ८.२६ प्रतिशत र वित्त कम्पनीहरूको
९.४५ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम भएको थियो।
त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० माघमा वाणिज्य बैंकहरूको ११.०८ प्रतिशत, विकास बैंकहरूको १२.८५ प्रतिशत र वित्त कम्पनीहरूको १३.९३ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो।
९. महँगी नियन्त्रणमा : चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ ।
यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो ।
१०. सरकारको आम्दानी र खर्चमा भने ठूलो खाडल : यस अवधिमा अर्थतन्त्रका अधिकांश सूचकमा सुधार देखिए पनि सरकारको आम्दानी र खर्च बीच १ खर्ब १९ अर्ब रुपैयाँको खाडल देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार माघसम्म सरकारको कुल खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ छ भने राजस्व संकलन (आम्दानी) ५ खर्ब ६७ अर्ब रुपैयाँ मात्र छ । यस अवधिमा सरकार १ खर्ब १९ अर्ब रुपैयाँमा घाटामा छ । समीक्षा अवधिमा सरकारको खर्च २.९ प्रतिशतले बढेको छ भने राजस्व संकलन १०.२ प्रतिशतले बढेको छ ।