समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम, नतिरे सम्पत्ति रोक्का

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिनको म्याद दिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै  ऋणीलाई ३५ दिन भित्र आफूले लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न निर्देशन दिएको हो ।

‘समस्याग्रस्त सहकारी संस्थाका ऋणीले सो संस्थाबाट लिनुभएको ऋण रकमको सावाँ ब्याज यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र समितिको कार्यालयमा उपस्थित भइ राफसाफ गर्नुहुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

तोकिएको समयमा ऋणको साँवा ब्याज भुक्तानी नगरे ऋणीको बैंक खाता रोक्का, सम्पत्ति रोक्का र कालोसूचीमा समेत राखिने कार्यालयले जनाएको छ ।

‘सो समयभित्र दायित्व राफसाफ नगरेको खण्डमा सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम कुनै बैंक तथा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालोसूचीमा राख्ने समेतको कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

हालसम्म सरकारले विभिन्न प्रकृतिका गरी १८ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । तीमध्ये कार्यालयले अहिले पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका ऋणीलाई ऋणको साँवा ब्याज भुक्तानी गर्न भनेको हो ।

बालुवाटारबाट १३ जना मिटरब्याज पीडित पक्राउ Read Previous

बालुवाटारबाट १३ जना मिटरब्याज पीडित पक्राउ

जनकपुर भन्सारले १८५ वटा मोटरसाइकल लिलामी गर्दै, रोयल इनफिल्ड ५५ हजारमै (मूल्यसहित) Read Next

जनकपुर भन्सारले १८५ वटा मोटरसाइकल लिलामी गर्दै, रोयल इनफिल्ड ५५ हजारमै (मूल्यसहित)