बैंक तथा वित्तीय संस्था अनुत्पादक क्षेत्रमा मात्र लगानी गर्न किन हौसिन्छन्

काठमाडौं । के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी बढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन ।

 

‘फाइनान्स सुविधा ८० प्रतिशत, एक दिनमा ऋण स्वीकृत’, गतसाता एक साप्ताहिक पत्रिकाले रङ्गिन छपाईमा यस्तो विज्ञापन छापेको थियो ।

 

अहिले कमर्शियल बैंकले छापा तथा इलोक्ट्रोनिक माध्यमलाई विज्ञापन प्रकाशित र प्रशारण गर्न दिँदै ग्राहकलाई गाडी बिक्रीमा (अटो ऋण) दिन लोभ्याइरेहका छन् ।

 

नेपाल राष्ट्र बैंकले कूल लगानीयोग्य रकमको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा उपयोग गर्न कार्यविधिमार्फत सार्वजनिक गरेको छ । सरकारले किसानका लागि सहुलियतपूर्ण कृषि कर्जाको ब्याजदर ५ प्रतिशत निर्धारण गरेको छ ।

 

बैंकहरुले कृषि कर्जामा लगानी गरेबापत १० प्रतिशत मुनाफा पाउँछन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्ने बैंकलाई थप पाँच प्रतिशत ब्याज उपलव्ध गराउँदै आएको छ ।

 

वरिष्ठ अर्थशास्त्री केशव आचार्य भन्छन् “ उत्पादनका क्षेत्रमा लगानी गर्न कमर्शियल बैंक उत्साहित हुनुपर्छ ,” । वित्तशास्त्री भवानी खनाल बैंकले छिट्टै लगानी गरेर तत्काल प्रतिफल मात्र लिन मोहित भएकाले उत्पादनका क्षेत्रमा नगन्य लगानी भएको र व्यापार घाटा, र बेरोजगार बढ्दै गएको बताउँछन् ।

 

राष्ट्रिय उत्पादनमा कृषकको योगदान धेरै रहको छ । वित्तीय संस्थाले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेको देखिदैन । बैंकले अनाज (अन्न), तरकारी, चिया/ कफी, सुर्ती, जुट, नगदेबाली, फलफूल, पूष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा लगानी गरेको दाबी गरेको छ ।

 

राष्ट्रिय कृषक समूह महासङ्घका पूर्वध्यक्ष उद्धव अधिकारी भन्छन् “कृषक वित्तीय संस्थासँग सन्तुष्ट छैनन् ।”नेपालको छैठौँ कृषि गणना २०६८ ले ४२ प्रतिशत किसानले कृषि ऋण नपाएको जनाएको थियो ।

 

चालू आर्थिक वर्षको बजेटमा आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बरले बढाउने घोषणा गरिएको छ । असोज मसान्तसम्म वाणिज्य बैंक तथा वित्त संस्थाले झण्डै ३१ खर्ब रुपैयाँ लगानी गरेका छन् । अनुत्पादक क्षेत्र मानिएको घर घडेरी, सवारीसाधन, मेशिनरी तथा सुनचाँदी खरिदका लागि भने झण्डै ६५ प्रतिशत हुन आउँछ ।

 

धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी करीब पाँच अर्बमा सीमित छ । बैंकले कृषिका अन्य क्षेत्र-तरकारी र कुखुरापालनमा भने लगानी विस्तार गर्दै लगेका छन् ।

 

केहीवर्ष अघिसम्म रुपैया बचत गर्न मानिस बैंक धाउने गर्थै । आजभोलि वित्तीय पहुँच सहज भएकाले बैँक आकर्षण नारा दिएर ग्राहकका घरदैलोमा पुग्न भने थालेका छन् ।

 

उनीहरुले आफ्नो संस्थाले दिने बचतमा ब्याज, ऋणमा लाग्ने ब्याजदर, लगानीका क्षेत्र, जोखिमको अवस्थाका सम्बन्धमा घरदैलोसम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेका छन् । यसबाट बैंकप्रतिको विश्वास बढ्दै गएको भए पनि साना तथा मझौला किसान भने खुशी रहेका छैनन ।

 

विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्ष भन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता रहेको जनाइएको छ । कृषकले भने समयमा कर्जा प्राप्त गर्न सकेका छैनन् ।

भ्रमण वर्षलाई सफल बनाउन दुई दिने कार्यशाला Read Previous

भ्रमण वर्षलाई सफल बनाउन दुई दिने कार्यशाला

अब दक्षिण अफ्रिकाबाट आउन थाल्यो प्याज Read Next

अब दक्षिण अफ्रिकाबाट आउन थाल्यो प्याज