काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै चीनको बेइजिङस्थित बेल्ट एन्ड रोड इन्टरनेशनल ट्रान्सपोर्टले विभिन्न संघसंस्थासंगको सहकार्यमा दुई दिने कार्यशाला संचालन गर्ने भएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्धारा उद्घाटन हुने ‘भिजीट नेपाल इयर २०२० इन्टरनेशनल वर्कशप अन ट्रान्सपोर्ट एन्ड टुरिजम इन्टरग्रेशन’ नामक कार्यशाला मंसिर २७ र २८ गते संचालन हुनेछ ।
कार्यशालामा पर्यटन क्षेत्रमा लगानीको संभावना, ड्राइभ टुरिजम, बिआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटि जस्ता एक दर्जन पेपरहरु प्रस्तुत गरिने भएको छ ।
कार्यशालामा चिनियाँ सरकारी तथा व्यवसायिक क्षेत्रको प्रस्तुति रहने नासाका महासचिव आशिष गजुरेलले जनाएका छन् । झन्डै २० लाख रुपैयाँ लगानीमा आयोजना हुने कार्यशालाको मुख्य उदेश्य नै पर्यटन प्रवद्र्धनमा सहायता पुर्याउनु भएको गजुरेलले बताए ।
कार्यशालामा नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारका उच्चअधिकारी, सांसद, पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायीहरु, सडक तथा यातायातका विज्ञको सहभागिता रहनेछ ।यस्तै चीन, भारत, बंगलादेश लगायत विभिन्न मुलुकका विज्ञहरु कार्यक्रममा सहभागी हुनेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा रहेको उक्त कार्यशालामा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको विशेष प्रस्तुति रहने छ ।
सात वटै प्रदेश सरकारका पर्यटकीय निकायहरुको समेत सहभागिता रहने सो कार्यशाला ड्राइभ टुरिजम र टुरिजम सेफ्टी सम्बन्धि नेपालकै पहिलो कार्यशाला बन्ने छ ।