दैनिक २९ वटा विद्युतीय गाडी भित्रिँदै, ७ महिनामा १५ अर्बकाे विदेशियो

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको विद्युतीय कार तथा साना ९ सिट क्षमताका माइक्रो भ्यान आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको तथ्यांक अनुसार ६ हजार १५९ विद्युतीय चार पाङ्ग्रे साधनको आयात भएको हो । यस आधारमा औसतमा दैनिक २९ वटा ईभी भित्रिएका हुन् ।

विद्युतीय सवारी आयातबाट यस अवधिमा भन्सार शुल्क, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र सडक निर्माण दस्तुर बापत ६ अर्ब ६२ करोड ८० लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने चार पाङ्ग्रे साधनको आयात दिन दिनै घट्दो क्रममा देखिएको छ । साउनदेखि माघ मसान्तसम्मको अवधिमा कुल २ हजार ५२९ यूनिट इन्टरनल कम्बस्चन कारको आयात भएको छ । यसमा एम्बुलेन्सको आयातसमेत जोडिएको छ ।

सात महिनामा ३ अर्ब ४३ करोड ६७ लाख ३५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको छ । आयात रकम ईभीको तुलनामा ५ गुण कम भए पनि भन्सार विन्दुमा उठ्ने राजस्व भने पेट्रोलियम कारकै धेरै छ ।

भन्सार, अन्तःशुल्क, भ्याट र आरडीएफ गरेर उक्त आयातमा ८ अर्ब ३३ करोड २३ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको देखिन्छ ।

आयातको आधारमा विद्युतीय साधनको आयात झण्डै ७१ प्रतिशत पुगेको छ । पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात २९ प्रतिशतमा खुम्चेको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।

 

सबैभन्दा सानो 'समाज' बन्यो सर्वाधिक महँगो सेयर मूल्य हुने लघुवित्त, कति पुग्यो भाउ ? Read Previous

सबैभन्दा सानो 'समाज' बन्यो सर्वाधिक महँगो सेयर मूल्य हुने लघुवित्त, कति पुग्यो भाउ ?

बजारमा अझै बढ्न सकेन वस्तुको माग, २१ अर्बले घट्यो आयात Read Next

बजारमा अझै बढ्न सकेन वस्तुको माग, २१ अर्बले घट्यो आयात