बजारमा अझै बढ्न सकेन वस्तुको माग, २१ अर्बले घट्यो आयात

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको बताए पनि बजारमा उपभोग्य वस्तुको माग बढ्न नसकेको सरकारी तथ्यांकले नै देखाएको छ ।

सरकारी भनाइलाई आधार मान्ने हो भने अर्थतन्त्र चलायमान हुँदै जाँदा क्रमशः उपभोग्य वस्तुको माग पनि बढ्नु पर्थ्यो । तर, बजारमा आर्थिक मन्दीको प्रभाव कायमै रहेको र उपभोग्य वस्तुको माग बढ्न नसकेको देखिएको छ ।

भन्सार विभावको तथ्यांक अनुसार बजारमा वस्तुको माग बढ्न नसक्दा आयात अझै खुम्चिएको छ । नेपालमा अधिकांश वस्तु आयातमै निर्भर छ । यहाँ उत्पादन न्यून छ । उत्पादन बढ्न नसकेको अवस्थामा पनि आयात खुम्चिनुले मन्दीको प्रभाव कायमै रहेको बुझन् सकिन्छ ।

विभागका अनुसार चालु आवको माघ महिनामा पनि यसअघिका महिनाहरूको जस्तै औसत मात्रै आयत भएको छ । माघका कुल १ खर्ब २९ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । जबकि चालु आवमा औसतमा मासिक १ खर्ब २८ अर्ब रुपैयाँको वस्तु आयात हुँदै आएको छ । यद्यपि, पुसको तुलनामा भने माघमा आयात ३ अर्ब रुपैयाँले बढेको छ ।

उद्योग, कलकारखाना पूर्ण क्षमतामा नचल्दा र उपभोग्य वस्तुको खपत बढ्न नसक्दा समग्र आयात घटेको हो । आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा उपभोग्य वस्तुको खपत घटेको छ ।साथै, माग संकुचनका कारण उद्योगहरू न्यून क्षमतामा संचालन भएकाले कच्चा पद्धार्थको आयात घट्दा समग्र आयात घटेको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिना (माघसम्म) कुल ८ खर्ब ९७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात २.३१ प्रतिशत अर्थात् २१ अर्ब २२ करोडको कम हो । गत वर्ष माघसम्म ९ खर्ब १९ अर्ब रुपैयाँ बढीको विदेशी वस्तु आयात भएको थियो ।

चालु वर्षको असोजमा सबैभन्दा धेरै १ खर्ब ४८ अर्ब र कात्तिकमा सबैभन्दा कम १ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै, भदौ १ खर्ब ३० अर्ब, साउनमा १ खर्ब २९ अर्ब, कात्तिकमा १ खर्ब ५ अर्ब, मंसिरमा १ खर्ब ३० अर्ब र पुसमा १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

निर्यात ७ प्रतिशले घट्यो

समीक्षा अवधिमा निर्यातमा पनि गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवको ७ महिनामा नेपालबाट हुने निर्यात ७.०७ प्रतिशतले घटेको छ ।

विभागका अनुसार चालु आवको माघसम्म कुल ८६ अर्ब ८३ करोडको सामान विदेशिएको छ । यो गत वर्षकोभन्दा ६ अर्ब ६० करोड रुपैयाँ कम हो । गत वर्ष सोही अवधिमा ९३ अर्ब ४३ करोडको वस्तु नेपालबाट विदेशिएको थियो । यस वर्ष मासिक औसतमा १२ अर्ब ४० करोड रुपैयाँको सामान निर्यात भएको छ ।

व्यापार घाटामा सुधार

गत वर्षको तुलनामा आयात घटेसँगै व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ । गत वर्ष माघसम्म ८ खर्ब २५ अर्ब व्यापार घाटा रहेकोमा चालु वर्षको सोही अवधिमा ८ खर्ब ११ अर्बमा सीमित भएको छ । गत वर्षकोभन्दा व्यापार घाटा १४ अर्बले घटेको हो ।

आयात प्रतिबन्ध हटाए पनि माग नहुँदा आयात घटेको हो । विदेशी मुद्रा संचिति घट्दै गएको भन्दै सरकार र राष्ट्र बैंकले अघिल्लो वर्ष विदेशी वस्तु आयातमा कडाइ गरेको थियो । विदेशी मुद्रा संचितिमा सुधार आएसँगै सरकारले २०७९ माघदेखि विभिन्न वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाएको थियो ।

चालु आवको ७ महिनामा कुल ९ खर्ब ८४ अर्बको वैदेशिक व्यापार भएको छ । यो गत वर्ष सोही अवधिकोभन्दा २.७५ प्रतिशत कम हो । गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

दैनिक २९ वटा  विद्युतीय गाडी भित्रिँदै, ७ महिनामा १५ अर्बकाे विदेशियो Read Previous

दैनिक २९ वटा विद्युतीय गाडी भित्रिँदै, ७ महिनामा १५ अर्बकाे विदेशियो

बेसिजनमा पनि मुस्ताङका स्याउ बजारमा, चिस्यान केन्द्रमा राख्दा मूल्य दोब्बर Read Next

बेसिजनमा पनि मुस्ताङका स्याउ बजारमा, चिस्यान केन्द्रमा राख्दा मूल्य दोब्बर