सबैभन्दा सानो ‘समाज’ बन्यो सर्वाधिक महँगो सेयर मूल्य हुने लघुवित्त, कति पुग्यो भाउ ?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था सबैभन्दा महँगो सेयर मूल्य हुने लघुवित्त बनेको छ । समाजले आत्मर्निभर लघुवित्त वित्तीय संस्थालाई उछिन्दै सर्वाधिक सेयर मूल्य हुने लघुवित्त बनेको हो ।

आज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९७८.५ रुपैयाँ पुगेको छ । दोस्रो स्थानमा झरेको आत्मर्निभरको सेयर मूल्य प्रतिकित्ता १८०० रुपैयाँ छ ।

गत साउन १ गतेदेखि कारोबारमा आएको समाज लघुवित्तको सेयर मूल्य ७ महिनाको अवधिमा १ दिन बाहेक घटेको छैन । ७२.२ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ७ महिनाको अवधिमा २७ गुणाले बढेको छ । चुक्ता पूँजीका आधारमा समाज नेप्सेमा सूचीकृत ५५ लघुवित्तमध्ये सबैभन्दा सानो लघुवित्त हो ।

नेप्सेमा समाजको जम्मा २ लाख २८ हजार ५०० कित्ता सेयर सूचीकृत छ । जसमा संस्थापक समूहको १ लाख ३० हजार २४५ कित्ता र सर्वसाधरणको ९८ हजार २५५ कित्ता छ । दोस्रो बजारमा कारोबार हुने साधरणतर्फको ९८ हजार २५५ कित्ता मात्रै हो । कम्पनीको आइपीओ जम्मा ८ हजार ७० जनाले १० कित्ताका दरले पाएका थिए ।

समाजको सेयर खरिदका लागि दैनिक हजारौं कित्ता सेयर माग हुन्छ । तर, बिक्रीकर्ता नगन्य छन् । नेप्सेमा थोरै सेयर संख्या हुने कम्पनीको सेयर मूल्यमा अत्यधिक चलखेल हुने गरेको छ । चाहे जति सेयर किन्न नपाउने (आपूर्ति नहुँदा) चलखेल गरी मूल्य निकै माथि पुर्याइने गरेका दृष्टान्त छ । त्यसैले आइपीओ पाएका अधिकांश सेयरधनीले अहिले नै सेयर बेच्न चाहेको देखिँदैन । कम्पनीको वित्तीय अवस्था तुलनात्मक रूपमा कमजोर नै रहे पनि मूल्य निकै माथि पुग्ने आशामा लगानीकर्ताले सेयर होल्ड गरेर बसेका छन् ।

कस्तो छ वित्तीय अवस्था

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म लघुवित्त १६ लाख ७० हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा घट्दा लघुवित्त नोक्सानीमा गएको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६५.३३ प्रतिशतले घटेर ६७ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा १ करोड ८८ लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिसम्म लघुवित्तले २८ करोड ५२ लाख रुपैयाँ सापटी र १३ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरी कुल ४१ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ करोड २४ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७.३१ रुपैयाँ ऋणात्मक छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १९८.२६ रुपैयाँ र खराब कर्जा ४.०१ प्रतिशत छ ।

ललिता निवासकाे जग्गाबाट आफैँ हट्न महानगरको ७ दिने अल्टिमेटम Read Previous

ललिता निवासकाे जग्गाबाट आफैँ हट्न महानगरको ७ दिने अल्टिमेटम

दैनिक २९ वटा  विद्युतीय गाडी भित्रिँदै, ७ महिनामा १५ अर्बकाे विदेशियो Read Next

दैनिक २९ वटा विद्युतीय गाडी भित्रिँदै, ७ महिनामा १५ अर्बकाे विदेशियो