काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंकले एक आपसमा मर्ज भई शुक्रबार (मंसिर २० गते ) देखि एकीकृत कारोबार शुरु हुने भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार हुने भएको छ।
मर्जर पछि एकीकृत कारोबार गर्नको लागि डाटा समायोजना गर्न मंसिर १८ गते साँझ ६ बजेदेखि १९ गते रातिको १२ बजेसम्म बैंकको एटीएम सेवा, क्रेडिट कार्ड सेवा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलगायत प्रदान गरिने सबै सेवा बन्द रहेन बैंकले जनाएको छ। एकीकृत कारोबार शुरु हुने दिन मंसिर २० गतेदेखि भने बैंकका सबै सेवा सुचारु हुनेछन् ।
गत असार २० गते दुई बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।
मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।
एकीकृत बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ। यो चुक्ता पूँजीको आधारमा नेपालकै सबैभन्दा ठूलो हो। बैंकका ३०० शाखा कार्यलय र २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ।