काठमाडौं । रिङरोडको अत्यन्तै व्यस्त र मुख्य भागको रुपमा रहेको गौशला-चाबहिल सडकखण्ड सबैभन्दा नाजुक अवस्थामा पुगेको छ । बिहान, दिउँसो वा साँझ कुनैपनि समयमा यस सडकमा यात्रागर्दा लामो जाममा बस्नु पर्ने सबैको बाध्यता हो ।
विशेषत सुन्दरीजल, बौद्धनाथ, साँखु, नगरकोट, सिन्दुपालचोक जस्ता क्षेत्रबाट आउने सवारीसाधन चाबहिलबाटै रिङरोडमा मिसिनेछन् ।
यस्तोमा सर्वाधिक सवारी चाप रहने उक्त खण्डमा जिर्ण बनेको सडकका कारण घन्टौँ जाम बस्नु पर्ने अवस्था रहेको छ ।
उपत्यकामा एउटा मात्र रहेको रिङरोड त्यसमा पनि विश्वसम्पदा सूचीमा रहेका बौद्धनाथ र पशुपतिनाथ जोड्ने उक्त सडकखण्डले हाम्रो विकासे नारालाई गिज्याइरहेको छ ।
सडकमा रहेको खाल्डाखुल्डीले निकै ठूलो समस्या भोग्नु परेको त्यहाँ कार्यरत ट्राफिक प्रहरीको गुनासो रहेको भने सडककै कारण सवारीसाधनमा निकै ठूलो क्षती पुग्ने गरेको चालकहरुको गुनासो रहेको छ ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकामा सम्पूर्ण सडक खाल्डो रहित बनाउन र चाँडोभन्दा चाँडो र्ममत सम्भार गर्न निर्देशन दिएका थिए । उनले मन्त्रीमन्डल पूर्ण गठन पश्चात् मन्त्रीहरुलाई निर्देशन दिदै ‘फागुनसम्ममा सडकका सबै खाल्टा खुल्टी पुरिसक्नु’ भनेका थिए ।

प्रधानमन्त्रीको यस्तो निर्देशन आएपनि उक्त सडकखण्ड कालोपत्रे गर्न रकम अभाव रहेको विभागले जनाएको छ । सडक बिग्रियको छ तर, त्यसलाई कालोपत्रे गर्न पुग्ने रकम नभएले कामको प्रकृया अघि नबढाएको विभागले जनाएको छ ।
सडक डिभिजनका सूचना अधिकारी सुदर्शन कार्कीका अनुसार उक्त सडकखण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको भएपनि बजेट अभावका कारण मात्र ठेक्का आह्वानमा ढिलाइ भइरहेको छ ।
‘ठेक्का आह्वान अन्तिम चरणमा छ, बजेट नभएर हो, हामीले अर्थमन्त्रालयसँग बजेट माग गरिरहेका छाैं,’ कार्कीले चाणक्य पोष्टसँग भने ।
उक्त सडकखण्डमा खानेपानी, ढल, लगायतका सबै काम सकेर कालोपत्रे सहित फिनिसिङ गर्न २० करोड रुपैयाँ आवश्यक पर्ने उनले बताए ।
१.८ किलोमिटर लम्बाई उक्त सडकको लागि आवस्यक रकम पाउनासाथ ठेक्का सम्झौँता गरेर काम अगाडि बढाउने विभागको तयारी रहेको छ ।
एउटा मन्त्रालयले अर्को मन्त्रालयसँग समन्वय नगरी काम गरिरहेकाले एउटाले पुर्ने अर्कोले खन्ने भइरहेको गुनासो विभागका कर्मचारीको छ ।
‘हामी पिच गर्दै खाल्टा खुल्टी पुर्दै जान्छौँ, कहिले खानेपानी, कहिले टेलिफोन, कहिले नाली, कहिले बिजुलीको पोल लगाउने र हटाउने भन्दै सडक विर्गान आइपुग्छन्’, विभागका एक कर्मचारीले भने ।