काठमाडौं । वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) डेढ वर्ष यताकै सस्तो भएको छ । पछिल्लो समय बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बेसरेट सस्तिएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अन्त्य (पुस मसान्तसम्म) वाणिज्य बैंकहरूको औसत बेसरेट ९.४४ प्रतिशतमा झरेको छ । यो २०७९ असार यताकै कम हो । सो बेला बैंकहरूको औसत बेसरेट ९.४६ प्रतिशत रहेको थियो ।
बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७९ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले एकल अंकमा आइपुगेको हो । पछिल्लो १ वर्षमा बैंकको बेसरेट औसतमा १.३४ प्रतिशत विन्दुले घटेको छ ।
अधिकांश बैंकहरूले चालु वर्षको कात्तिकदेखि लगतार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । कर्जाको माग नबढेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो ।
पछिल्लो ४ महिनाको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर ३ प्रतिशतसम्म घटाएका छन् भने औसतमै डेढ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।
विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो । तर, चालु आव सुरू भएदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । बैंकमा पैसा थुप्रिँदा पनि कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । साथै, नेपाल राष्ट्र बैंकले समेत नीतिगत दरहरू घटाउँदै बैंकहरूलाई ब्इाजदर घटाउन सहयोग गरेको छ । जसले निक्षेपको ब्याजदर घट्दा बेसरेट पनि घट्दै गएको हो ।
बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १४/१५ प्रतिशतमा झरेको छ ।
केही बैंकले अहिले नै बार्गेनिङ गर्न सक्ने ग्राहकलाई एकल अंकको ब्याजदरमा कर्जा दिन थालिसकेका छन् । बेसरेट कम भएका बैंकहरूले न्यून प्रिमियम जोडेर करिब १० प्रतिशतमै ऋण दिन थालेका छन् । यद्यपि, बेसरेट उच्च भएकाले अझै पनि अधिकांश बैंकले चाहेर पनि १० प्रतिशतभन्दा तलको ब्याजदरमा कर्जा दिन सक्ने अवस्था छैन ।
अहिले पनि बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ भने कर्जाको माग बढ्न सकेका छैन । प्रणालीमा साढे ६ खर्ब बढी लगानी योग्य रकम छ । तर, अपेक्षित रुपमा कर्जाको माग बढ्न नसकेकाले आगामी दिनमा पनि बैंकहरूले निक्षेपको ब्याजदर अझै घटाउने देखिन्छ । यसले आगामी दिनमा अझै बैंकको बेसरेट पनि थप घट्न गई कर्जाको ब्याजदर पनि घट्ने देखिन्छ ।
कुन बैंकबाट ऋण लिँदा सस्तो ?
बैंकहरूले बेसरेटमा प्रिमियम जोडेर कर्जा लगानी गर्छन् । कर्जाको ब्याजदर बेसरेटले फरक पार्छ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।
अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ ।
अहिले बैंकहरूको औसत बेसरेट ९.४४ प्रतिशत रहेको छ । जसमा ५ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको औसत ब्याजदर साढे १४ प्रतिशत हाराहारी रहेको छ । यद्यपि, केही बैंकले अहिले एकल अंकको ब्याजदरमै ऋण दिन थालेका छन् ।
पुस मसान्तको तथ्यांक अनुसार बैंकहरूको न्यूनतम बेसरेट ७.५६ प्रतिशत र अधिकतम १०.५९ प्रतिशतसम्म रहेको छ । २० मध्ये १७ बैंकको बेसरेट एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम छ भने ३ वटाको १० प्रतिशत माथि छ ।
पुस मसान्तसम्म सबैभन्दा सस्तो बेसरेट विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डको रहेको छ । यसको बेसरेट ७.५७ प्रतिशतसम्म छ । यस अनुसार हाल चार्टर्डबाट अधिकतम साढे १२ प्रतिशत ब्याजदरमै कर्जा पाइन्छ ।
त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको पनि बेसरेट ८ प्रतिशतभन्दा कम छ । पुस मसान्तमा बैंकको बेसरेट ७.९० प्रतिशत रहेको छ । यसले पनि अधिकतम १३ प्रतिशतसम्म ऋण दिन सक्छ ।
समीक्षा अवधिमा नेपाल र एभरेष्ट बैंकको बेसरेट ९ प्रतिशतभन्दा कम छ । यी पनि तुलनात्मक रूपमा सस्तो बेसरेट भएका बैंकमा पर्दछन् । त्यस्तै, नबिल, सिद्धार्थ, सानिमा, इन्भेष्टमेन्ट मेगा, प्रभु, ग्लोबल आइएमई लगायत १३ बैंकको बेसरेट ९ र १० प्रतिशतको बीचमा रहेको छ ।
कुमारी, प्राइम कमर्शियल र हिमालयन बैंक भने महँगो बेसरेट भएका बैंकमा पर्दछन् । यी बैंकको बेसरेट १० प्रतिशत माथि छ । यी बैंकबाट ऋण लिँदा कर्जाको ब्याजदर साढे १५ प्रतिशतसम्म पर्दछ ।