समग्र निर्यात घट्दा पनि सिमेन्टले जगाउँदै आशा, पौने २ अर्बको विदेशियो

काठमाडौं । समग्रमा नेपालबाट हुने निर्यात घट्दा पनि सिमेन्टले भने आशा जगाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिना (साउन–पुस)मा नेपालबाट हुने निर्यात ७.२३ प्रतिशतले घटे पनि सिमेन्टको वैदेशिक व्यापार भने महिनैपिच्छे बढिरहेको हो ।कुल निर्यातमा सिमेन्टको हिस्सा २.३४ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षमा कीर्तिमानी पौने २ अर्बको सिमेन्ट विदेशिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको पुस मसान्तसम्म नेपालबाट कुल १ अर्ब ७६ करोड ३३ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको हो ।

गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा सिमेन्ट निर्यात साढे २० गुणा अर्थात् १९४५.५९ हजार प्रतिशतले धेरै हो । गत वर्ष पुससम्म कुल ८ करोड ६२ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो ।

चालु वर्षको ६ महिनामै गत वर्षभरीकोभन्दा १ अर्ब बढीको सिमेन्ट निर्यात भएको हो । गत आव २०७९/८० मा कुल ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।

विभागका अनुसार चालु आवको पुससम्म ८७ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २२ हजार ११७ मेट्रिकटन क्लिंकर (सिमेन्टको कच्चा पद्धार्थ) निर्यात भएको छ । त्यस्तै, यही अवधिमा ८९ करोड १२ लाख रुपैयाँको १४ लाख ५० हजार २५० मेट्रिकटन तयारी सिमेन्ट निर्यात भएको छ ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण स्वदेशी बजारमा सिमेन्टको खपत बढ्न नसके पनि भारतीय बजारमा माग बढ्दा निर्यातमा उत्साह देखिएको छ । जसले मुलुकको डरलाग्दो व्यापार घाटा घटाउन थोरै भए पनि भूमिका खेलेको छ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको र निर्यातको सम्भावना देखेपछि सरकारले गत वर्षदेखि निर्यातको ढोको खोलिदिएको थियो । सरकारले आव २०७९/८० को बजेटमार्फत सिमेन्ट, स्टील, प्लाइवुडलगायत वस्तु निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दाबढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । त्यसपछि नेपालबाट सिमेन्ट, प्लाइवुड लगायत वस्तु निर्यातको नयाँ ढोका खुलेको थियो ।

मासिक २९ करोडको सिमेन्ट निर्यात

चालु वर्षमा औसतमा मासिक २९ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । चालु आवमा असोजमा सबैभन्दा धेरै ४३ करोड ४६ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात थियो ।

त्यस्तै, पुसमा २७ करोड १० लाख, मंसिरमा ३६ करोड, कात्तिकमा २७ करोड ७७ लाख, साउनमा २३ करोड ५० लाख र भदौमा १८ करोड ३५ लाख रुपैयाँ बराबरको क्लिंकर तथा सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ ।

नेपालबाट २०७९ साउनदेखि सुरू गरेको सिमेन्ट तथा क्लिंकर निर्यात सुरु भएको थियो । पहिलो महिना ४९ लाख रुपैयाँको सिमेन्ट विदेशिएको थियो ।

यी उद्योगले गर्छन् निर्यात

नेपालबाट सिमेन्ट निर्यात हुन थालेको डेढ वर्ष पुगेको छ । यस अवधिमा आधा दर्जन उद्योगले निर्यात थालेका छन् । २०७८ असार २४ गते पहिलोपटक पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारत निर्यात सुरू गरेको थियो ।

त्यसपछि, २०७९ असोज ३१ गतेदेखि अर्घाखाँची, २०८० जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी र २०८० गत भदौ २१ देखि सीजी सिमेन्टले निर्यात थालेका थिए । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले पनि गत मंसिर १६ गतेदेखि भारतमा क्लिंकर निर्यात सुरु गरेको छ ।

अन्य सिमेन्ट उद्योगहरुले पनि भारत निर्यातको तयारी गरिरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । सो प्रक्रियामा रहेकाले थप उद्योगले पनि चाँडै निर्यात थाल्ने संघको भनाइ छ । अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै अर्बौंको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ ।

नेपालमा हाल ५० बढी सिमेन्ट उद्योग संचालित छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ? Read Previous

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?

नेपाल लाइफले यो वर्ष लाभांश नदिने Read Next

नेपाल लाइफले यो वर्ष लाभांश नदिने