काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकले क्रमशः अर्थतन्त्रमा सुधार आइरहेको देखाए पनि बजारमा उपभोग्य वस्तुमा माग भने बढ्न नसकेको पाइएको छ ।
अर्थतन्त्र चलायमान हुँदै जाँदा उपभोग्य वस्तुको माग बढ्ने अपेक्षा गरिए पनि बढ्न नसकेको आयातले देखाएको हो । पुस महिनामा औसतभन्दा पनि कम वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार चालु आवको ६ महिनामा औसतमा १ खर्ब २८ अर्ब बढीको वस्तु आयात भएको छ । जबकि पुसमा १ खर्ब २६ अर्बको मात्र सामान आयात भएको छ । मंसिरको तुलनामा पुसमा ४ अर्ब रुपैयाँ कमको वस्तु आयात भएको छ ।
उद्योग, कलकारखाना पूर्ण क्षमतामा नचल्दा र उपभोग्य वस्तुको खपत बढ्न नसक्दा समग्र आयात घटेको हो । आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा उपभोग्य वस्तुको खपत घटेको छ ।साथै, माग संकुचनका कारण उद्योगहरू न्यून क्षमतामा संचालन भएकाले कच्चा पद्धार्थको आयात घट्दा समग्र आयात घटेको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना (पुससम्म) कुल ७ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात ३.०९ प्रतिशतले घटेको हो । गत वर्ष पुससम्म ७ खर्ब ९२ अर्ब रुपैयाँ बढीको विदेशी वस्तु आयात भएको थियो ।
चालु वर्षको असोजमा सबैभन्दा धेरै १ खर्ब ४८ अर्ब र कात्तिकमा सबैभन्दा कम १ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै, भदौ १ खर्ब ३० अर्ब, साउनमा १ खर्ब २९ अर्ब, कात्तिकमा १ खर्ब ५ अर्ब, मंसिरमा १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।
निर्यात ७ प्रतिशले घट्यो
समीक्षा अवधिमा निर्यातमा पनि गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवको ६ महिनामा नेपालबाट हुने निर्यात ७.२३ प्रतिशतले घटेको छ ।
विभागका अनुसार चालु आवको पुससम्म कुल ७४ अर्ब ९६ करोडको सामान विदेशिएको छ । यो गत वर्षकोभन्दा ६ अर्ब कम हो । गत वर्ष सोही अवधिमा ८० अर्ब ८० करोडको वस्तु नेपालबाट विदेशिएको थियो । यस वर्ष मासिक औसतमा साढे १२ अर्ब रुपैयाँको निर्यात भएको छ ।
व्यापार घाटामा सुधार
गत वर्षको तुलनामा आयात घटेसँगै व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा २.६२ प्रतिशतले घटेको छ । गत वर्ष पुससम्म ७ खर्ब ११ अर्ब व्यापार घाटा रहेकोमा चालु वर्षको सोही अवधिमा ९ खर्ब ९३ अर्बमा सीमित भएको छ । गत वर्षकोभन्दा व्यापार घाटा १८ अर्बले घटेको हो ।
आयात प्रतिबन्ध हटाए पनि माग नहुँदा आयात घटेको हो । विदेशी मुद्रा संचिति घट्दै गएको भन्दै सरकार र राष्ट्र बैंकले अघिल्लो वर्ष विदेशी वस्तु आयातमा कडाइ गरेको थियो । विदेशी मुद्रा संचितिमा सुधार आएसँगै सरकारले २०७९ माघदेखि विभिन्न वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाएको थियो ।
चालु आवको ६ महिनामा कुल ८ खर्ब ४३ अर्बको वैदेशिक व्यापार भएको छ । यो गत वर्ष सोही अवधिकोभन्दा ३.४७ प्रतिशत कम हो । गत वर्ष पुससम्म ८ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।