१ वर्षमा काठमाडौं महानगरमा बढे १९ हजार करदाता

काठमाडौं । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा ३ लाख २४ हजार १२० करदाता रहेकामा चालु आवमा ३ लाख ४३ हजार ३४० पुगेका हुन् ।

कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले गत वर्षको तुलनामा चालु वर्षमा करदाताको संख्या १९ हजार २२० ले बढेको बताए ।

उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ सम्पत्ति करदाता रहेका छन् । अन्य शीर्षकमा पनि करदाता बढेका छन् । यसवर्ष करदाताको सङ्ख्या ३ लाख ४३ हजार ३४० पुगेको छ ।

‘गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको सङ्ख्यालाई चालु आवका लागि करदाताको सङ्ख्या मान्ने गरिएको छ,’ काफ्लेले भने । उल्लेखित करदातामध्ये अहिलेसम्मा १ लाख ९१ हजार ८८६ कर तिर्नेको सङ्ख्या रहेको भन्दै १ लाख ३२ हजार २३४ कर नतिर्ने रहेका उनले जानकारी दिए ।

करदाता बढेपछि कामपामा उलेख्य रुपमा कर सङ्कलन भएको छ । चालु आवको अर्धवार्षिक अवधिमा करिब रू ५ अर्ब राजस्व सङ्कलन भएको काफ्लेले जानकारी दिए ।

कामपाको प्रमुख बालेन्द्र शाहले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रमसङ्ख्या ४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ को व्यवस्था बमोजिम बहाल कर सङ्कलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै यसअघि सङ्घ सरकारबाट सङ्कलन हुँदै आएको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने बताउँदै आएका छन् ।

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्दछ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । निर्देशिका जारी भएसँगै करदाता बढेको कामपाले जनाएको छ ।

बजारमा अझै बढ्न सकेन माग, ३ प्रतिशतले घट्यो आयात Read Previous

बजारमा अझै बढ्न सकेन माग, ३ प्रतिशतले घट्यो आयात

बेनी-जोमसोम सडक खण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने Read Next

बेनी-जोमसोम सडक खण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने