काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज दोहोरो अंकले घटेको हो । पछिल्ला ३ दिनमा नेप्से ४६ अंकले घटेको छ ।
अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेपछि सेयर बजारमा असर परेको हो । अधिकांश बैंकको खराब कर्जा बढेको छ । बैंकहरुको वितरण योग्य मुनाफा एकदम न्यून छ भने केहीको ऋणात्मक बनेको छ । जसकारण आगामी वर्ष कमै बैंकहरुले मात्र लाभांश दिन सक्ने सकिन्छ ।
आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा आइपुगेको छ । यसदिन ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच भएको छ ।
सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ७ अर्ब ६७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये अन्य र हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ५६ करोड ७९ लाख रुपैयाँको ८ लाख २७ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । आँखुखोला जलविद्युत्, समाज लघुवित्त र हिमालयन लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।