पुस मसान्तमा बैंककाे व्यवसाय : एकैदिन २६ अर्ब निक्षेप संकलन, २७ अर्ब ऋण लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू व्यवसाय विस्तारमा आक्रमक बनेका छन् । डेढ वर्ष यता सुस्त रहेको बैंकिङ व्यवसाय पछिल्लो समय नेपाल राष्ट्र बैंकको नीतिगत लचकतापछि केही सुधार देखिन थालेको छ ।

प्रणालीमा चालु वर्षको सुरुदेखि नै लगानी योग्य रकम (तरलता) पर्याप्त भए पनि कर्जा लगानी हुन सकेको छैन । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग नबढ्दा बैंकहरूले ऋण लगानी गर्न नसकेका हुन् ।

तर, पछिल्लो एक महिना यता कर्जा विस्तारमा पनि सुधार देखिएको छ । चालु वर्षको ५ महिनामा करिब १ खर्ब मात्र कर्जा लगानी गरेका बैंकहरूले पुसमा मात्रै पौने खर्ब कर्जा लगानी गरेका छन् ।

पुस मसान्त (२९ गते) बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन र कर्जा लगानी उल्लेख्य रुपमा वृद्धि गरेका छन् । सो एकैदिन बैंक तथा वित्तीय संस्थाले २६ अर्ब निक्षेप संकलन गरी २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

पुस २८ गते ६१ खर्ब ४ अर्ब रुपैयाँ रहेको निक्षेप पुस २९ गते ६१ खर्ब ३० अर्ब पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै, पुस २८ गतेसम्म कुल ५० खर्ब ५९ अर्ब रुपैयाँ रहको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भोलिपल्ट ५० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । अर्थात् पुस मसान्तको दिन मात्रै बैंक तथा वित्तीय संस्थाले २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यद्यपि, सो दिन बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा भन्दा पनि पुरानो ऋण नवीकरण तथा पुनर्संरचना गरेकाले ऋण लगानी ह्वात्तै बढेको देखिएको हो । राष्ट्र बैंकले २०८० असार मसान्तसम्म सक्रिय ऋणीले आगामी चैत मसान्तसम्म ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ । सोही सुविधा अन्तर्गत बैंकले ऋणको पुनर्संरचना गर्दा कर्जा लगानी बढेको देखिएको हो ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । प्रणालीमा सवा ६१ खर्ब निक्षेप रहेको छ । सोमध्ये साढे ६ खर्ब रुपैयाँ बढी लगानी योग्य रकम छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ८० प्रतिशत हाराहारीमा छ । जबकि राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशत तोकेको छ ।

पछिल्लो समय ब्याजदर समेत घट्दो क्रममा छ भने कर्जा लगानीमा राष्ट्र बैंकले केही लचकता अपनाएको छ । यसले क्रमशः कर्जाको माग बढ्दै गएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सिफारिस समिति गठन Read Previous

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सिफारिस समिति गठन

भारतको अकासा एयरद्धारा बोइङका १५० विमान अर्डर Read Next

भारतको अकासा एयरद्धारा बोइङका १५० विमान अर्डर