टोखामा चाकु दिवस मनाइँदै

काठमाडौं । ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आगामी माघ १ गते ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्वपूर्ण योगदान गर्ने विशिष्ठ व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्न लागिएको राससलाई जानकारी दिए।

नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई नगद रु ५० हजारसहित सम्मान गर्न लागेको छ । यस्तै टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई रु २५/२५ हजार नगदसहित सम्मान गर्न लागेको छ ।

टोखा नगरपालिका–२ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी गरिनेछ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छवीकालको ५१९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । हाल टोखामा १४ चाकु उद्योग रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । टोखाको चाकु देशसहित विदेशका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ ।

गभर्नर अधिकारीको नाममा नक्कली ह्वाट्स एप, संवादबाट सहज रहन आग्रह Read Previous

गभर्नर अधिकारीको नाममा नक्कली ह्वाट्स एप, संवादबाट सहज रहन आग्रह

हाइड्रो चम्किँदा नेप्से २१०० अंक माथि पुग्यो, यी १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

हाइड्रो चम्किँदा नेप्से २१०० अंक माथि पुग्यो, यी १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट