सरकारी कम्पनीले पाएन धान, लक्ष्यको २० प्रतिशत मात्रै किन्यो 

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले लक्ष्य अनुसार धान खरिद गर्न असफल भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको करिब २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको हो ।

सरकारले तोकेभन्दा बजारमा धानको मूल्य बढेपछि धान बिक्रीका लागि किसान आउनै छोडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

‘खरिद सुरु गरेको एक महिनासम्म किसान धान बिक्रीका लागि आए । त्यसपछि बजारमै राम्रो मूल्य पाएपछि अहिले बिक्रीका लागि किसान आएका छैनन्,’ उनले भने, ‘किसान नआउँदा अहिले धान खरिद गर्ने कार्य ठप्प जस्तै छ ।’

खाद्य व्यवस्थाले कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको थियो । यसवर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखिएको थियो । यद्यपि लक्ष्यअनुसार धान पाउन नसकिएको सूचना अधिकारी उपाध्यायले बताए ।

उनका अनुसार अहिलेसम्म लक्ष्यको झण्डै २० प्रतिशत हाराहारीको २ हजार ९५० क्विन्टल धान खरिद गरिएको छ । प्रतिक्विन्टल रु ३ हजार १९८ का दरले धान खरिद गरिएको हो । यो मूल्य गतवर्ष भन्दा बढी हो । गतवर्ष रु २ हजार ९६७ प्रति क्विन्टलका दरले धान खरिद गरिएको थियो ।

गतवर्ष पनि खाद्यले लक्ष्य अनुसार धान पाएको थिएन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार गतवर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि खाद्यले तीन हजार २१ क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो  । धानको मूल्य राम्रो पाएपछि गाउँमै धान बेचेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले बताइन् ।

‘नजिकमा खाद्यको खरिद केन्द्र पनि छैन । धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ,’ उनले भनिन्, ‘त्यसैले खरिद केन्द्र टाढा हुँदा गाउँमै धान बिक्री गरेका छौँ ।’ डेढ बिघा जमिनमा धानखेती गरेका उनको यसपटक उत्पादन वृद्धि भएको छ । उनका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ ।

कुमारी बैंकले पनि घटायो ब्याजदर Read Previous

कुमारी बैंकले पनि घटायो ब्याजदर

विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउन ५५ अर्ब लाग्ने, बोर्डमा बुझायो डीपीआर Read Next

विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउन ५५ अर्ब लाग्ने, बोर्डमा बुझायो डीपीआर