काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोर अन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टीलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरे बापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण र उद्योगी बीच डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता भुक्तानी बारे विवाद भइरहेकै बेला हिमालले भने महशुल तिरेको हो ।
हिमालले प्राधिकरणलाई ८ करोड १२ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । सोमध्ये सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
प्राधिकरणले बक्यौता रकम किस्ता पनि तिर्न सकने व्यवस्था गरेपछि उद्योगले पहिलो किस्ताबापतको रकम बुझाएको हो । उद्योग बक्यौता रकम ३६ किस्तामा तिर्ने भएको छ ।
प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्ता अर्थात् ६० महिनासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।
उपकार्यकारी निर्देशक सिलवालले हिमालले बक्यौताको पहिलो किस्ता बुझाएपछि हिजो राति सवा ९ बजे नै विद्युत् लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गत उद्योगको लाइन शुक्रबार काटेको थियो । प्राधिकरणले हालसम्म २३ उद्योगको बिजुली काटे पनि अरु उद्योगले भने बक्यौता महशुल भुक्तानी गरेका छैनन् ।