काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याउन लागेको हो ।
कम्पनीको स्थानीयका लागि ३६०.९० रुपैयाँ दरले ९ लाख ३० हजार कित्ता सेयर जारी गर्ने भएको हो । सो सेयरमा उद्योग प्रभावित क्षेत्र नवरपारासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाले आवेदन दिन पाउने छन् ।
त्यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २ लाख ६७ हजार कित्ता साधारण निष्काशन गर्ने भएको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा माघ १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र माघ २५ गतेसम्म आवेदन दिन पाउने छन् ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाले ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका नवरपलासीका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।
आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।
कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।