काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ५ महिना (साउन–मंसिर)मा निर्जीवन बीमा व्यवसायमा गिरावट आएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १.५६ प्रतितशले खुम्चिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु वर्षको मंसिरसम्म (१४ निर्जीवन बीमा र २ दुई लघुबीमा)ले कुल १५ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २५ करोड कम हो । गत वर्ष मंसिरसम्म निर्जीवन बीमा कम्पनी (लघुबीमा थिएनन्)ले १५ अर्ब ९७ करोड रुपैयाँ बीमा शुलक संकलन गरेका थिए ।
समीक्षा अवधिमा १४ निर्जीवन बीमा कम्पनीले १५ अर्ब ७२ करोड र दुई लघुबीमाले २ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले मंसिर महिनामा मात्रै ३ अर्ब १७ करोड रुपैयाँको व्यापार गरेका छन् ।
गत वर्षदेखि अर्थतन्त्रमा आएको मन्दीका कारण बीमा कम्पनीहरूको व्यवसायमा धक्का लागेको हो । आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा व्यापार व्यवसाय बढ्न सकेको छैन । जस कारण मानिसहरूको आम्दानी घटेको छ भने खर्च गर्ने क्षमतामा पनि ह्रास आएको छ । सोही कारण बीमा व्यवसायमा समेत धक्का लागेको देखिन्छ ।
सवारीसाधनको व्यापार खुम्चिँदा पनि निर्जीवन बीमा व्यवसायमा असर परेको देखिन्छ । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा एकतिहाई छ ।
समीक्षा अवधिमा बीमा शुल्क संकलन घटे पनि जारी बीमालेखको संख्या भने बढेको छ । गत वर्ष मंसिरसम्म कुल ११ लाख ४७ हजार २६४ बीमालेख जारी गरेका कम्पनीहरूले चालु आवको सोही अवधिमा ११ लाख ७२ हजार ४४७ वटा पोलिसी जारी गरेका छन् । समीक्षा अवधिमा बीमालेखको संख्या २५ हजार १८३ वटाले बढी हो ।
सगरमाथाको सबैभन्दा धेरै, ५ कम्पनीको घट्यो
समीक्षा अवधिमा १४ मध्ये ९ कम्पनीको बीमा शुल्क संकलन बढेको छ भने ५ कम्पनीको घटेको छ । मंसिरसम्म सगरमाथा लुम्बिनी इन्स्यारेन्सले सर्वाधिक बीमा शुल्क संकलन गरेको छ । यसले मंसिरसम्म १ अर्ब ९९ करोड रुपैयाँको व्यवसाय गरेको हो ।
त्यस्तै, यस अवधिमा सिद्धार्थ प्रिमियर १ अर्ब ६५ करोड, शिखर इन्स्योरेन्स १ अर्ब ५७ करोड, हिमालयन एभरेष्ट १ अर्ब ३९ करोड, आइजीआई प्रुडेन्सियल १ अर्ब ३८ करोड र युनाइटेडले १ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।