प्रमाण दिए पैसा तिर्छौं, प्रयोग नगरेको बिजुलीको बिल पठाएर तनाव दिइयो : उद्योगी

काठमाडौं । उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बिजुली प्रयोग गरेको प्रमाण दिए सबै महशुल तिर्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ६१ वटा उद्योगले बक्यौता नतिरेको भन्दै धमाधम लाइन काट्न थालेपछि व्यवसायीहरूले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारण राख्दै यस्तो बताएका हुन् ।

उनीहरूले उद्योगीले नियमित बिजुली महशुल तिरिरहको तर, प्राधिकरणले प्रयोग नै गरेको बिजुलीको बिल पठाएर उद्योगीलाई तनाव दिएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योगीले नियमित बिलको पैसा तिरेको बताए । उनले प्राधिकरणले प्रयोग नै नगरेको बिजुलीको बिल पठाएर उद्योगीलाई तनाव दिइएको बताए ।

‘तिर्नुपर्ने बिलको पैसा नतिरेको भए त्यसको भागीदार बन्छौं । प्रमाण देखाउनुस् हामी पैसा तिर्न तयार छौं,’ उनले भने, ‘अहिले प्रयोग नै नगरेको बिजुलीको बिल पठाएर हामीलाई तनाव दिइएको छ । लाइन काटिएको छ । यसको क्षतिको भागीदार को हुन्छ ?’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बिजुली प्रयोग गरेको प्रमाण माग्दा उल्टै लाइन काटेको बताए । ‘एउटा व्यक्तिको महत्वाकाङ्क्षा पूरा गर्नका लागि सरकार नै प्रयोग हुन मिल्छ ? उद्योग गर्नु अपराध हो ?,’ उनले प्रश्न गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगीहरू बक्यौता तिर्न तयार रहे पनि कुलमान घिसिङले आफ्नो बोलीनै कानुन ठानेको बताए ।

‘प्रमाण देखाउ पैसा तिर्छौं भन्दा कुलमान घिसिङ अदालतमा देखाउँछु भन्नुहुन्छ,’ उनले भने,’ ‘उहाँले जे बोल्नु भयो त्यो नै कानुन हो ? उद्योगीको टाउको माथि तरबार झुण्डाउने र तर्स्याउने काम भएको उनको भनाइ छ ।

उद्योगी पवन गोल्यानले रिलायन्स स्पिनिङ मिल्सको विद्युत् महसुल बाँकी नराखेको र विद्युत् प्राधिकरणले प्रमाण देखाए बक्यौता भुक्तानी गर्ने बताए । ‘रिलायन्स स्पिनिङ मिल्सको एक सुका पनि तिर्नुपर्ने भए रगत बगाउन तयार छु । प्राधिकरणले हावादारी रूपमा फर्जी बिल पठाएर हुँदैन,’ उनले भने ।

प्राधिकरणले शुक्रबारसम्म बक्यौता नतिरेको भन्दै २३ उद्योगको बिजुली लाइन काटिसकेको छ ।

रुकुम पश्चिमका २० हजार लाभग्राहीले प्राप्त गरे पहिलो किस्ता Read Previous

रुकुम पश्चिमका २० हजार लाभग्राहीले प्राप्त गरे पहिलो किस्ता

१२ लघुवित्तको लाभांश घोषणा, यी १६ वटाले नदिने Read Next

१२ लघुवित्तको लाभांश घोषणा, यी १६ वटाले नदिने