रुकुमपश्चिम । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।
जिल्लाका ६ वटै स्थायीय तहमा गरेर हालसम्म १९ हजार ७१७ लाभग्राहीले पहिलो किस्ताबापतको रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६०४ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम पठाइए पनि स्थायीय विपद् न्यूनीकरण कोषबाट १९ हजार ७१७ लाभग्राहीले रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।
उनका अनुसार हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा सात हजार लाभग्राहीले रकम प्राप्त गर्दा बाँफीकोट गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन् ।
त्यस्तै चौरजहारी नगरपालिकामा ५ हजार ९३८, मुसिकोट नगरपालिकामा २११, सानीभेरी गाउँपालिकामा ४ हजार ४९९ र त्रिवेणी गाउँपालिकाका २ हजार ६९ लाभग्राहीले पहिलो किस्ताबापतको रु २५ हजारका दरले रु ४९ करोड २९ लाख २५ हजार पाप्त गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट भने रु ५९ करोड २ लाख रकम स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाइएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पठाइएको पहिलो किस्ताबापतको रकम अझै ३ हजार ९१ लाभग्राहीले पाउन बाँकी छ । जिल्लाभर हालसम्म २६ हजार ८०५ लाभग्राहीको प्रहरी लगत सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।