१२ लघुवित्तको लाभांश घोषणा, यी १६ वटाले नदिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १ दर्जन लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

नेप्सेमा सूचीकृत ५५ मध्ये आइतबारसम्म १२ लघुवित्तले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् । १६ वटा लघुवित्तले भने गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका छन् । अर्थात् सेयरधनीको हात खाली बनाएका छन् ।

२७ वटा लघुवित्तले भने अझै लाभांश दिने/नदिने घोषणा गरेका छैनन् । गत वर्षको नाफाबाट लघुवित्तले न्यूनतम ५ देखि अधितम १५ प्रतिशतसम्म लाभांश दिएका छन् ।

जसमा छिमेकसहित ६ लघुवित्तले सर्वाधिक १५ प्रतिशत लाभांश घोषणा गरेका छन् । जसमा आत्मनिर्भर, साना किसान, फर्स्ट माइक्रोफाइनान्स, धौलागिरि र एनआइसी एशिया लघुवित्त रहेका छन् ।

हालसम्म लाभांश घोषणा गरेकामध्ये समता घरेलु लघुवित्तले सबैभन्दा कम ५.७० प्रतिशत लाभांश घोषणा गरेको छ ।

लाभांश घोषण गरेकामध्ये फर्स्ट, स्वाबलम्बन, एनआइसी एशिया र आरएसडीसी लघुवित्तले बुकक्लोज गरी साधरणसभा समेत डाकिसकेका छन् भने अरु लघुवित्तको बुकक्लोज हुन बाँकी छ ।

यी १६ लघुवित्तले लाभांश नदिने

हालसम्म १६ लघुवित्तले गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका छन् । विगतका वर्षहरुमा बम्पर लाभांश दिँदै आएका लघुवित्तले समेत यसवर्ष सेयधनीलाई निराश बनाएका छन् ।

हालसम्म फरवार्ड, सवाइसीएल नेपाल, उपकार, हिमालयन, मनकामना स्मार्ट, गुराँस, सामुदायिक, इन्फिनिटी, लक्ष्मी, नाडेप, साधना, सबैको, मेरो र नेरुडे लघुवित्तले लाभांश नदिने घोषणा गरेका छन् ।

अर्थतन्त्रमा आएको मन्दीका कारण समयमै ऋण असुली नहुँदा नाफा घटेकाले लघुवित्तहरुले लाभांश दिन नसकेका हुन् । गत आवमा १ दर्जन बढी लघुवित्त घाटामा गएका थिए भने अधिकांशको नाफा घटेको थियो । आर्थिक मन्दी, बढ्दो ब्याजदर, लघुवित्त विरुद्धको आन्दोलन लगायत कारणले लघुवित्त व्यवसायमा धक्का लागेको छ । जसकारण खराब कर्जा बढ्दा प्रोभिजन बढेकोले लघुवित्तहरु लाभांश दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

 

प्रमाण दिए पैसा तिर्छौं, प्रयोग नगरेको बिजुलीको बिल पठाएर तनाव दिइयो : उद्योगी Read Previous

प्रमाण दिए पैसा तिर्छौं, प्रयोग नगरेको बिजुलीको बिल पठाएर तनाव दिइयो : उद्योगी

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने Read Next

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने