काठमाडौं । अमेरिकी डलर संचिति ३ वर्ष यताकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो महिना (कात्तिकसम्म)को तथ्यांक अनुसार डलर संचिति १२ अर्ब ७५ करोड पुगेको छ ।
यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको ३५ महिना यताकै धेरै डलर हो । यसअघि सन् २०२१ जनवरीमा १२ अर्ब ७७ डलर संचिति करोड थियो ।
रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचिति लगातार बढेको हो ।
२०७९ असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट ४२ करोड डलर थपिएको ।
डलर संचिति बढेको यो लगातार तेह्रो महिना हो । राष्ट्रिय ढुकुटीमा चालु आवको साउनमा १२ करोड, भदौमा १६ करोड, असोज ३७ र मंसिरमा ४२ करोड डलर थपिएको छ ।
त्यस्तै, गत वर्षको असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड र असारमा ४३ करोड डलर थपिएको थियो ।
सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, गत पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।
यस्तै, विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ । राष्ट्र बैंकका अनुसार कात्तिकसम्म विदेशी मुद्रा संचिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
गत असारको तुलनामा असोजमा विदेशी मुद्रा संचिति १०.२ प्रतिशतले बढेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १४९० अर्ब ८३ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग रु.२०५ अर्ब ९५ करोड रुपैयाँ छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।
कात्तिक महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।