काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र १४ दिनका लागि बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको जनाएको छ ।
बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।
पछिल्लो समय कर्जाको माग नहुँदा पैसा बैंकिङ प्रणालीमा थुप्रिन थालेपछि राष्ट्र बैंकले पटक पटक रिभर्स रिपोमार्फत पैसा खिच्दै आएको छ । हाल प्रणालीमा ५ खर्बभन्दा बढी तरलता थुप्रिएको छ । तरलता सहज भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत हाराहारीमा आएको छ ।