काठमाडौं । वैद्यज् अर्गनाइजेनश अफ इन्ट्रीज एण्ड ट्रेडिङ हाउस (भोइथ)ले आफ्नो स्थापनाको ६० वर्ष पूरा गरेको छ । कम्पनीले आफ्नो ६ दशक लामो यात्रामा आरोह अवरोहसँगै अनेक शासन व्यवस्था देख्यो ।
आफ्नो स्थापनाको ६० वर्षमा यसका संस्थापक स्वर्गीय डा. विजय गजानन्द वैद्य भौतिक रूपमा उपस्थित नभए पनि लाग्थ्यो, उनी मन्चमा थिए र आफ्नो मन र मस्तिकबाट निस्केको भोइथले ठूलै आकार ग्रहण गरेकोमा प्रफुल्ल थिए ।
भोइथको स्थापना भएको ६० वर्ष पूरा भए पनि उसको औपचारिक कारोबार भने टोयोटाको आधिकारिक बिक्रेताको रूपमा भएको थियो । भोइथको ट्रेडिङ कम्पनी युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रालिको नामबाट टोयोटाको आयात सुरू भएको थियो । करिब ५७ वर्ष पहिला टोयोटा नेपाल आएको थियो ।
दक्षिण एशियामा सबैभन्दा पहिला नेपाल आएको जापानी ब्राण्ड टोयोटाले वैद्यज् अर्गनाइजेशनको ग्रोथमा त योगदान दियो नै नेपालको यातायात क्षेत्रमा पनि निकै ठूलो सहयोग गर्यो । अहिले पनि टोयोटा कठिन भू–भागको लागि सबैभन्दा सुरक्षित साधन मानिन्छ ।
टोयोटासँगै चिया, ह्याचरी, मत्सेपालन, शिक्षा, बीमा जस्ता क्षेत्रमा भोइथले लगानी विस्तार गर्दै गयो । संस्थापक चेयरम्यान स्वर्गीय गजानन्द वैद्यपछि कम्पनीको बागडोर प्रसिडेन्टको रूपमा सुरज वैद्यले सम्हालेका छन् । उनको नेतृत्वमा कम्पनीले देशकै ठूलो मध्यको एक हुवासिन सिमेन्टमा लगानी विस्तार गरेका छन् । चीनको वैदेशिक लगानी रहेको हुवासिनले नेपालको सिमेन्ट बजारमा पहुँच विस्तार गर्दै गएको छ ।

अहिले संस्थापक वैद्यका छोरा हुँदै कारोबारमा तेस्रो पुस्ता सक्रिय हुन थालेको छ । सुरज वैद्यका छोर शूर्यांश वैद्य र छोरी सुवाना वैद्यले आफ्ना हजुबुबा र बुबाको पथ पच्छाउँदै व्यवसायमा हात हालेका छन् ।
शूर्यांशले अटोमोवाइल क्षेत्रमा नै सक्रियता देखाएका छन् । वैद्य इनर्जी नामक कम्पनी स्थापना गरेर उनले विद्युतीय सवारीसाधन आयात सुरू गरेका छन् । नेपालमा विद्युतीय साधनको ठूलो नेटवर्क तयार पारेर अगाडि बढ्ने योजना अनुसार उनले एथर ब्राण्डका साधन नेपाल ल्याएको बताएका छन् ।
उनी भन्छन्, ‘हजुरबुबाले ५७ वर्ष अगाडि टोयोटा नेपाल ल्याएर निजी सवारी र सार्वजनिक यातायातको क्षेत्रमा ठूलो काम गर्नु भएको थियो । अव विद्युतीय साधनमा केही गर्नु पर्ने अवस्था आएकाले म अगाडि बढेको हुँ ।’
सुरूदेखि नै ‘हस्पिटालिटी’ क्षेत्रमा चासो र त्यसमै अध्ययन पुरा गरेर व्यवसायमा होमिएकी सुवाना वैद्य चितवना लग्जरी बुटिक होटल बनाउन लागि गरेकी छिन् । उनले नेपालको नेचुरल रिसोर्स र वातावरणीय विविधतालाई समेटर देशमा होटलको चेन निर्माण गर्ने अठोट लिएकी छिन् ।
अहिले चितवनमा करिब १२ बिगाह जमिनमा उनी लग्जरी रिसोर्ट निर्माणमा जुटेकी छिन् । वाइल्डलाईफ जीवन चाहनेहरुको लागि ध्यानमा राखेर उनले ‘सास्वता’ नामबाट रिसोर्ट निर्माण गरिरहेकी छिन् । त्यसको लागि उनले भारतीय लग्जरी रिसोर्ट संचालन गर्ने ‘पोष्टकार्ड’ ग्रुपसँग टाइअप गरेकी छिन् ।